नयाँ दिल्ली, ८ साउन । भारतमा नीट (एनआईटी) प्रश्नपत्र लीक प्रकरणलाई लिएर राजनीतिक तनाव थप चर्किएको छ ।
बिहीबार साँझ कांग्रेस नेता राहुल गान्धीसहित विपक्षी गठबन्धनका करिब १०० सांसदले नयाँदिल्ली स्थित गान्धी स्मृति पुगेर प्रश्नपत्र लीकपछि ज्यान गुमाएका विद्यार्थी र आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरूको सम्झनामा प्रार्थना गरेका हुन् ।
प्रार्थनापछि सञ्चारकर्मी सँग कुरा गर्दै राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य–मान्यता माथि प्रहार गरिरहेको आरोप लगाए । उनले महात्मा गान्धीको हत्या भएको स्थानबाट सन्देश दिँदै लोकतन्त्रमाथिको हस्तक्षेप विपक्षले स्वीकार नगर्ने बताए ।
राहुलले शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई तत्काल पदबाट हटाउनुपर्ने माग दोहोर्याउँदै सरकारले विद्यार्थीहरूको आवाज दबाउन खोजेको आरोप लगाए । उनले विपक्षी सांसदहरू आन्दोलनरत विद्यार्थीहरूसँग ऐक्यबद्धता जनाउन इन्डिया गेट जान चाहेको तर प्रशासनले अनुमति नदिएको दाबी गरे ।
उनका अनुसार त्यसपछि गान्धी स्मृति जाने क्रममा पनि सुरक्षाकर्मीले अवरोध सिर्जना गरेको थियो । केही समयको विवादपछि भने विपक्षी सांसदहरू, कांग्रेस नेता तथा कार्यकर्ताहरू गान्धी स्मृति पुग्न सफल भएका थिए ।
कांग्रेस सांसद प्रियंका गान्धीले महात्मा गान्धीले किसान र गरिबका अधिकारका लागि अहिंसात्मक आन्दोलन गरेको स्मरण गराउँदै आज त्यही देशमा आफ्नो अधिकार माग्ने विद्यार्थीमाथि बल प्रयोग हुनु दुर्भाग्यपूर्ण भएको बताइन् । उनले लोकतन्त्रको रक्षा गर्न आन्दोलनरत विद्यार्थीहरू माथिको दमन तत्काल रोक्न सरकारसँग माग गरिन् ।
पूर्व केन्द्रीय मन्त्री पी. चिदम्बरमले आफूहरू विद्यार्थी, युवा र अभिभावकहरूको पक्षमा उभिएको बताउँदै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै, कांग्रेस सांसद रेणुका चौधरीले निहत्था विद्यार्थीमाथि भएको बल प्रयोगको आलोचना गर्दै यसको गम्भीर परिणाम हुन सक्ने चेतावनी दिइन् ।
नीट प्रश्नपत्र लीक प्रकरणलाई लिएर भारतभर विद्यार्थी आन्दोलन चर्किँदै गएको छ भने विपक्षी दलहरूले सरकारमाथि पारदर्शी छानबिन र राजनीतिक जिम्मेवारी वहन गर्न निरन्तर दबाब बढाइरहेका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन