रौतहट, ८ साउन । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि बिहीबार राति गृह क्षेत्रमै कालो मसी प्रहार भएको घटना सार्वजनिक भएको छ ।
गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सम्पन्न गरी फर्किने क्रममा अज्ञात समूहले उनीमाथि कालो मसी दलेर फरार भएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार कार्यक्रम सकिएपछि फर्किने तयारीमा रहेका सांसद पौडेल नजिक मास्क लगाएका २–३ जना युवक पछाडिबाट पुगेको थियो । चिनेजानेको व्यक्तिले अँगालो हालेझैँ गर्दै उनीहरूको समूहले सांसद पौडेलको ढाडमा कालो मसी दल्यो र अँध्यारोको फाइदा उठाउँदै घटनास्थलबाट भाग्न सफल भयो ।
घटनापछि सांसद पौडेलले आक्रमणकारीहरूको हातमा रातो झण्डा तथा केही पर्चा रहेको र उनीहरूले आफूलाई ‘मधेश मुक्ति अभियान’ सँग आबद्ध समूह भएको संकेत दिएको दाबी गरे । स्थानीयवासी तथा समर्थकहरूले उनीहरूलाई नियन्त्रणमा लिन खोजे पनि सफल हुन सकेनन् ।
घटनाबारे जानकारी पाएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । सांसद पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ‘फगु’ (वा ‘फुगु’) भनेर चिनिने एक व्यक्तिको नाम खुलेको दाबी गरिएको भए पनि घटनामा संलग्न व्यक्तिहरू अझै पक्राउ परेका छैनन् ।
यस घटनाले लोकतान्त्रिक अभ्यास माथि गम्भीर प्रश्न उठाएको छ । असहमति र विरोध लोकतन्त्रको आधारभूत अधिकार भए पनि हिंसात्मक वा अपमानजनक शैलीले विरोध अभिव्यक्त गर्नु लोकतान्त्रिक संस्कृति सँग मेल नखाने राजनीतिक विश्लेषकहरूको धारणा छ ।
सार्वजनिक कार्यक्रममा सहभागी निर्वाचित जनप्रतिनिधि माथि भएको यस प्रकारको घटनाले रौतहटमा सुरक्षा व्यवस्थामाथि गम्भीर समेत प्रश्न उठेको छ । दोषीलाई कानुनी दायरामा ल्याएर घटनाको निष्पक्ष छानबिन गर्न स्थानीयवासी तथा सरोकारवालाले माग गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन