गरुडा संवाददाता
गरुडा (रौतहट), १७ साउन । महिला बालबालिका सहित घर मुलीलाई निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाइएको घटना १४ दिन वितिसक्दा पनि पावर पहुँचका भरमा पीडक कानुनी कटघेरा बाहिर रहदा पीडित परिवार झन् असुरक्षित महसुस गरिरहेका छन् ।
ज्वाई, बहिनी, भाञ्जीलाई बाँसको चिरपट, मोटरसाइकलको सौकरले निर्घात कुटपिट गरेर मरणासन्न बनाउने पीडकलाई कानुनी कटघेरामा नराख्दा पीडित परिवार प्रहरीको कार्यशैलीबाट झन् असुरक्षित महसुस गर्दै डरत्रासको माहौलमा जीवन व्यतित गर्न बाध्य बनेका हुन् ।
गरुडा नगरपालिका–९ रघुनाथपुर गाउँका रामअयोध्याय सहनीका अनुसार, गत असार ३ गते दिउसो सामान्य भनाभनलाई लिएर स्थानीय रुपेश सहनी, सुदिश सहनी, सुखल सहनी, राजी सहनी र गोलु सहनीले नानाथरीको गाली ग्लौज गर्दै ज्यान मारिदिने धाकधम्की देखाएका थिए ।
उक्त घटनाको भोली पल्ट अर्थात साउन ४ गते विहानै ६ बजेको समयमा गाउँमै रहेको बहिनी ज्वाईको घरमा बाँसको चिरपट, मोटरसाइकलको सौकर सहित घरेलु हतियार सहित आएर तल्लो स्तरको गाली ग्लौज गर्नुका साथै एक्कसी ज्वाई सुरेन्द्र सहनी, बहिनी दयावती देवी र भान्जी अंशु सहनी माथि आक्रमण गरेर गम्भीर घाइते बनाए । नलकटुवा पेस्तोल समेत प्रदर्शन गरेको गम्भीर आरोप पीडित पक्षले लगाए ।
विपक्षीहरुको कुटपीटबाट मरणासन्न अवस्थामा पुगेका बहिनी ज्वाई र भाञ्जीलाई मेरो साख्खै दाजु कमल सहिनीले तत्काले एम्बुलेन्स बोलाएर उपचारको लागि गरुडा स्थित अनामिका हस्पिटलमा पुर्याएर उपचार गराए तर हस्पिटलले समुचित रुपमा यहाँ उपचार हुनसक्ने अवस्था नरेको भन्दा समेत बाहिर उपचारको लागि लग्ने पैसा नहुँदा सोही अस्पतालमा उपचार गराएको रामअयोध्यायले दुखेसो पोखे ।
उक्त घटनापछि प्रहरी चौकी विर्ताबाट खटिएको प्रहरीले घटनास्थलको मुचुल्का सहितका आवश्यक अनुसन्धान प्रक्रिया पुरा गरेर इप्रका गरुडालाई बुझाए । इप्रका गरुडाका डिएसपी शंकर आचार्य समक्ष हामी पिडितहरु पटक पटक कारवाही गर्न र जाहेरी दर्ता गर्न आग्रह गर्दा समेत हाल सम्म जाहेरी दर्ता नगरेको पीडक मध्ये केही व्यक्तिलाई नियन्त्रणमा लिएर छाडिदिएको गम्भीर आरोप पिडित परिवारले लगाए ।
इप्रका गरुडाको निरन्तर असहयोगका विच असार १५ गते शुक्रवारका दिन पुनः अर्को जाहेरी लिएर आउने क्रममा पीडकहरुले आफू संग भएका ७० हजार रुपैया सहित अन्य कागजातहरु लुटेर भागेको प्रमाणहरु प्रशस्त रहेको जानकारी दिदा समेत डिएसपी आचार्यले हेर्छु, बुझछु भन्दैमा समय खेर फाल्दै आएको उनले बताए ।
प्रहरीको अगाडी नै हामी सहितका मानिसमाथि पेट्रोल खन्याइदिएको तथा आगो लगाएर मारीदिन्छु जस्ता व्यवहार गर्दा शुक्रवार राति प्रहरी चौकी विर्ता अगाडीको पसलमा रातभरी जाग्रम गरेर विताएपछि हिजो विहान २ वटा प्रहरीको साथमा घर गएको अवस्था छ, अव भन्नुस प्रहरी पनि पावर र पहुँचका भरमा न्याय दिने हो भने हामीहरु गाउँबाट उठिवास हुनुको कुनै विकल्प नरहेको गम्भीर प्रश्न चिन्ह् गरुडा प्रहरी माथि तेश्रयाएर ।
जबकी निर्घात कुटपिटको अस्पताल जाँच गराएर पेश गरिसकेको भएपनि डिएसपी आचार्य कुनै सुनवाई नगर्दा कतै पीडक संग त साँठगाँठ गरेको होइन भने पीडित पक्षले आशंका व्यक्त गरे ।
९८५५०४२३९९ मा फोन गरेर इप्रका गरुडाका डिएसपी शंकर आचार्य संग बास्तविक्ता बुझ्न खोज्दा मोवाइलमा एक घण्टी गएपछि तपाईले सम्पर्क गर्नुभएको नम्वर ब्यस्त रहेको भने ।
यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले इप्रका गरुडाको मातहतमा रहेको र उक्त विषयमा आफूले बुझेर समस्या समाधानको क्षेत्रमा लाग्ने बताए । कोही पनि नागरिक असुरक्षित महसुस गरेमा प्रहरीले उसको सुरक्षा दिन तयार रहेको बताउदै घटनाको प्रकृति हेरेर जाहेरी दर्ताको प्रक्रिया अघि बढाउने भएपनि त्यहाँको विषयमा आफू गम्भीर भएर बुझ्ने प्रतिबद्धता जनाए ।