रौतहट, १९ साउन । लगातार परेको साउने झरीसँगै झाझ खोलामा आएको बाढीले रौतहटका मध्य तथा दक्षिणी भेगका सयौँ बिघा धानखेत डुबानमा परेका छन् ।
बोरिङ मार्फत सिँचाइ गरी मेहनतका साथ रोपिएको धानबाली एकै रातको बाढीले डुबाएपछि किसान चिन्तित बनेका हुन् ।
दुई दिनदेखि निरन्तर वर्षा भएपछि आएको बाढीले दुर्गा भगवती गाउँपालिकाको बडहर्वा, पचरुखी, मत्सरी, पिपरा र भलोहिया गरी पाँचै वडा, यमुनामाई गाउँपालिकाका चार वडा तथा माधवनारायण र गरुडा नगरपालिकाका सयौ बिघा क्षेत्रफलमा रोपिएको धानबाली जलमग्न भएको स्थानीयले बताए । बाढीले खेत डुबाएसँगै किसानको लगानी र उत्पादन दुवै जोखिममा परेको छ ।
यसबीच, कटहरिया नगरपालिकामा रहेका डिस्टिलरीबाट बाढीको समयमा दूषित पानी लमहा (झाँझ) खोलामा छाडिएको आरोप स्थानीय किसानहरूले लगाए । उनीहरूका अनुसार उक्त दूषित पानी बाढीसँगै बगेर दक्षिणी क्षेत्रका डुबानग्रस्त धानखेतमा पुग्दा धानको जरासम्म कुहिने र बाली पूर्ण रूपमा नष्ट हुने समस्या वर्षेनि दोहोरिने गरेको छ ।
स्थानीयले डिस्टिलरीबाट वातावरणमा असर पर्ने गरी दूषित पानी छाड्ने कार्य रोक्न र दोषीमाथि कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरे ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले झाझ खोलाको बाढीका कारण सयौँ बिघा जमिन डुबानमा परेको जानकारी प्राप्त भएको पुष्टि गर्दै डिस्टिलरीबाट दूषित पानी छाडिएको भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए । आरोप पुष्टि भए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनले चेतावनी दिए ।
प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार डुबान प्रभावित क्षेत्रमा नेपाल प्रहरी र स्थानीय प्रशासनले निरन्तर निगरानी गरिरहेको छ । सम्भावित जनधनको क्षतिलाई रोक्न उद्धार तथा विपद् व्यवस्थापन टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए ।
बाढीसँगै सम्भावित वातावरणीय प्रदूषणको विषय उठेपछि स्थानीयले प्रभावित क्षेत्रको तत्काल अनुगमन, क्षतिको यथार्थ मूल्याङ्कन तथा किसानलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकाय सँग माग गरेका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन