किसानको समस्यालाई यथाशिघ्र समाधान गर्नुपर्ने लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको माग

   २७ पुष २०७८, मंगलवार १४:०४  

रौतहट, २७ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को वरिष्ठ नेता राजेन्द्र महतोले किसानहरुलाई समयमा मलखाद्य सहितको सामानहरु उपलब्ध गराउन वर्तमान सरकारको ध्यानाकर्षण गरेका छन् ।
अन्न भण्डारणको रुपमा चिनिएका तराई मधेशका जिल्लामा राज्यद्धारा समयमा मल खाद्य तथा विऊविजन उपलब्ध नगराउदा यहाँका किसानहरुलाई निकै सास्ती खेप्नु परेको पिडाबाट बाध्य भएर किसानहरु आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै उनले आपत्ति समेत जनाए ।
महतोले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, विगत दुई सातादेखि मलखाद्य, बिउविजन, सिचाई, उखु किसानको भुक्तानी लगायतको माग राख्दै जारी किसान आन्दोलनको उचित मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भत्र्सना गरे ।
किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापन सहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको उनको ठहर छ । महतोले वर्षौ देखिको समस्याहरु लिएर चिसो मौसममा सडकमा उत्रिन बाध्य भएका किसानहरुको मागको समर्थन र आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गरे ।
पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गरी वार्ता र संवाद मार्फत किसानहरुको माग पुरा गर्न सरकारसँग अनुरोध गर्नुका साथै आन्दोलनका क्रममा घाइते भएका किसानहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै