विद्यालय र स्वास्थ्यको आडमा क्रिश्चियन धर्मको प्रचार गर्ने माउन्टेन चाइल्डलाई बन्द गरियो

783 Shares

रौतहट, २७ पुस । गौरखा जिल्लाको चुमनुब्री गाउँपालिकाको ७ वटा वडाहरुमा सेवा दिइरहेको माउन्टेन चाइल्ड नामक गैर सरकारी संस्थालाई बन्द गरिएको छ । उक्त संस्था माथि क्रिश्चियन धर्म प्रचार प्रसार गरेको आरोप लागेका छन् ।
क्रिश्चियन धर्म प्रचार गरेको आरोप लागेका माउन्टेन चाइल्ड नामक गैर सरकारी संस्था विरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि विगत ६ महिना देखि उक्त संस्थाको सेवा बन्द गरिएको बताइएका हुन् ।
उक्त संस्थाले चुमनुब्री गाउँपालिका वडा नम्वर ४ मा सञ्चालन गरेको तीनवटा पूर्वप्राथमिक विद्यालय, एउटा गाउँघर क्लिनिक र सुत्केरी तथा घाइतेको हेलिकोप्टरबाट उद्धार गर्ने कार्यक्रम गत साउन महिना देखि बन्द भएको स्थानीय नीमा ग्याल्बो लामाले बताइन् ।
माउन्टेन चाइल्डको सहयोगमा गप जागरण समाजले गप, क्वाक र छाकमा पूर्वप्राथमिक विद्यालय (ईसीडी) सञ्चालन गरेको थियो । तर, गत साउन देखि बन्द भयो,’ गप जागरण समाजका कार्यकारी निर्देशक लामाले भने, ‘गपमा गाउँघर क्लिनिक सञ्चालन गरेको थियो । त्यो पनि बन्द भयो । सबैभन्दा बढी सेवा चुमनुब्री गाउँपालिकाभरीका घाइते र सुत्केरी महिलाहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने (हेलो) कार्यक्रम सञ्चालन गरिरहेको थियो तर त्यो पनि बन्द भयो ।
अहिले दुर्घटनामा परेका घाइते तथा अस्पताल लानुपर्ने सुत्केरीहरूलाई उपचार सेवामा ठूलो समस्या आएको उनले बताए । संस्थाले चुमनुब्री गाउँपालिकाभरी यी बाहेक अन्य स्वास्थ्य, सरसफाइ तथा शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको थियो । गृह मन्त्रालयको निर्देशनमा समाज कल्याण परिषद्ले कार्यक्रम गर्न अनुमति नदिएपछि सबै सेवा बन्द भएको स्थानीयवासीको गुनासो छ ।
संस्थाले नियमित रूपमा विद्यार्थीलाई दिँदै आएको स्टेसनरी, पोसाक, ओढ्ने, ओछ्याउने भाडाकुँडा किन्न दिइरहेको रकम पनि बन्द भएको छ । अज्ञात व्यक्तिले संस्था विरुद्ध झुटो आरोप लगाएर उजुरी दिएको उनको दाबी छ । समुदायस्तरमा काम गर्ने माउन्टेन चाइल्ड होइन हाम्रो संस्था हो । उ त केवल दातृ संस्था मात्र हो । हामी कसरी धर्म प्रचार गर्न दिन्छौँ र ? कसैले रिसिइबीले बिल्कुल झूटा उजुरी दिँदा दुर्गमका समुदायले दुःख पाए,’ उनले भने ।
आफ्नो वडामा सो संस्थाले धर्म प्रचार हुने खालका कुनै काम नगरेको गाउँका मुख्य लामा समेत रहेका चुमनुब्री–७ छेकम्पारका वडाअध्यक्ष पासाङफुञ्जो लामाले बताए । धर्म प्रचार गरेको उजुरी झुटो हो भन्न समाज कल्याण परिषदमा हामी सबै वडाअध्यक्षहरू जाने कार्यक्रममा म पनि सहभागी थिएँ, लामाले भने, म आफैं मुख्य लामा हो, क्रिश्चियन धर्म प्रचार गरेको त केही पनि थाहा पाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार