जनकपुरधाम, २४ साउन । जनकपुरधाम स्थित सामाजिक संस्था श्री राम युवा कमिटीको १७ औ कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरूले शनिबार शपथग्रहण गर्दै संस्थाको नेतृत्व औपचारिक रूपमा सम्हालेका छन् ।
शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहको विशेष उपस्थितिमा उक्त पदभार ग्रहण गरिएका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री सिंहले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै श्री राम युवा कमिटीले सामाजिक, धार्मिक, सांस्कृतिक तथा मानवीय क्षेत्रमा पुर्याउँदै आएको योगदानको खुलेर प्रशंसा गरे ।
सिंहले युवा शक्ति समाज परिवर्तनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै युवाको ऊर्जा, क्षमता र नेतृत्वलाई सकारात्मक तथा रचनात्मक कार्यमा परिचालन गर्न सके समाजमा उल्लेखनीय परिवर्तन ल्याउन सकिने बताए ।
जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउन युवा पुस्ताको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिदै सिंहले श्री राम युवा कमिटीले लामो समय देखि सामाजिक सद्भाव, धार्मिक आस्था, संस्कृति संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा गर्दै आएको कामले जनकपुरधामको पहिचानलाई थप समृद्ध बनाउन सहयोग पुगेको बताए ।
“समाजलाई सही दिशामा अघि बढाउन युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको छ । श्री राम युवा कमिटीले युवालाई एकताबद्धता व्यक्त गर्दै सामाजिक सेवाको क्षेत्रमा देखाएको सक्रियता प्रशंसनीय रहेको,” सिंहले भने । उनले नयाँ कार्यसमितिलाई विगतका राम्रा कामलाई निरन्तरता दिदै संस्थाको गरिमा, सामाजिक उत्तरदायित्व र जनविश्वासलाई थप उचाइमा पुर्याउन आग्रह गरे । सामाजिक तथा जनहितका अभियानमा आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
निर्वाचनबाट विजयकुमार साह तेलीको अध्यक्षतामा १७ औ कार्य समिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा शिव ठाकुर सोनार, उपाध्यक्षमा दीपककुमार साह, महासचिवमा सुभाषचन्द्र साह, सचिवमा लोकेश्वर झा र कोषाध्यक्षमा विनय साह निर्वाचित भएको हो ।
यसैगरी कार्यसमिति सदस्यमा अमर ठाकुर, सन्दीपकुमार साह, जितेन्द्रकुमार भगत, महावीर साह कानु (गोपाल), धर्मेन्द्र साह र सुदीपकुमार भण्डारी निर्वाचित भए । निर्वाचन समितिका प्रमुख निर्मलकुमार चौधरीका अनुसार कुल ३५८ मतदाता मध्ये २३३ जनाले मतदान गरेका थिए ।
शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, समाजसेवी, युवा तथा कमिटीका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूले संस्थाको उद्देश्य र सामाजिक जिम्मेवारीलाई आत्मसात् गर्दै श्री राम युवा कमिटीलाई अझ सक्रिय, एकताबद्ध, व्यवस्थित र जनमुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन