रौतहट, २८ पुस । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको हुँदा प्रदेश २ सहित अन्य प्रदेशमा बदली भई सामान्य बर्षा हुने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको हो । बुधबार सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावनाको साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहीबार देशभर आंशिक बदली रहने छ । अपराह्न पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै शुक्रबार देशभर आंशिक बदली रहने छ । अपराह्न पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा फाटफुट÷हल्का हिमपातको सम्भावना रहेको छ ।