वीरगञ्ज, २६ साउन । पर्सा प्रहरीले अवैध वित्तीय कारोबार (हुण्डी) को आशंकामा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार साँझ उनीहरूलाई श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो ।
शंकास्पद अवस्थामा दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले रोकेर खानतलासी गर्दा ठूलो परिमाणमा नेपाली नगद फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवन भट्टराईले जानकारी दिए ।
भारत सीतामढीका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्तालाई पक्राउ गरिएको उनले भने ।
उनका अनुसार भारतीय नागरिक सुरज कर्णको साथबाट १ लाख, उपेन्द्रको साथ बाट १८ लाख १६ हजार, सागर साथबाट १८ लाख ३४ हजार र राहुल साथबाट १६ लाख रुपैयाँ बरामद भएको छ । बरामद रकममा पाँच सय र एक हजार दरका नोट रहेको एसपी भट्टराईले जानकारी दिए ।
रकम ओसारपसारमा प्रयोग भएको प्रदेश २–०३–००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको एफजेड मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले चारै जनामाथि हुण्डी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको आशंकामा अनुसन्धान अघि बढाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन