हिजो अर्थात साउन २८ गते दिउसो परेको आकाशे झरी पश्चात विद्यालय हाताबाट पानीको निकास नहुँदा कक्षाकोठा सहित कम्पाउण्डमा जमेको पानी ।
रौतहट, २९ साउन । वर्षायाम सुरु भएसँगै दुर्गा भगवती गाउँपालिकाका केही सामुदायिक विद्यालयको अवस्था दयनीय बन्ने गरेको छ ।
सामान्य वर्षामै विद्यालय परिसर डुबानमा पर्ने, कक्षाकोठामा पानी पस्ने तथा विद्यार्थीको पठनपाठन प्रभावित हुने समस्या वर्षौंदेखि दोहोरिँदै आए पनि यसको स्थायी समाधानतर्फ सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयहरुले गुनासो गरेको हो ।
दुर्गा गाउँपालिका–१ स्थित जनता प्राथमिक विद्यालय, गंगापिपरा तथा वडा नम्वर ५ बडहर्वा स्थित दुई आधारभूत प्राथमिक विद्यालय वर्षा याममा डुबानको उच्च जोखिममा पर्ने गरेका छन् । विद्यालय परिसरमा पानी जम्दा विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आवतजावतमा समेत समस्या हुने गरेको बताइएको छ ।
स्थानीयवासीले भने विद्यालयको पूर्वाधार विकासका लागि आउने बजेट र अनुदानको प्रभावकारी उपयोगिता बारे गम्भीर प्रश्न उठाए । विद्यालय भवन तथा अन्य पूर्वाधार निर्माणका लागि हरेक वर्ष ठूलो रकम आउने गरेको दाबी गरिए पनि जोखिममा रहेका विद्यालयको अवस्था सुधार हुन नसक्नुले बजेटको कार्यान्वयन र अनुगमन माथि प्रश्न खडा भएको उनीको भनाइ छ ।
‘भवनमाथि भवन, तर विद्यार्थी पढ्ने ठाउँको अवस्था दयनीय’
गाउँपालिकाका अन्य कतिपय विद्यालयमा आवश्यकता भन्दा बढी भवन निर्माण भइरहेको देखिए पनि विद्यार्थीको चाप बढी भएका तथा वर्षायाममा डुबानमा पर्ने विद्यालयलाई पूर्वाधारका हिसाबले पछाडि पारिएको स्थानीयको गम्भीरु आरोप छ । यसले गाउँपालिकाको शिक्षा नीति र प्राथमिकतामाथि नै प्रश्न उठाएको हो ।
विद्यालयको दुरावस्थाको जिम्मेवारी कसले लिने भन्ने विषयमा समेत स्थानीय अन्योलमा छन् । स्थानीय सरकार, वडा कार्यालय, प्रदेश तथा संघीय निकाय देखि शिक्षा क्षेत्रका सम्बन्धित अधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक र प्रशासन सम्मको भूमिका माथि प्रश्न उठ्दै आउनु स्वभाविकै छ ।
स्थानीय अभिभावकको भनाइमा, गरिब तथा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने सामुदायिक विद्यालयलाई नै व्यवस्थित र सुरक्षित बनाउन नसक्नु शिक्षा क्षेत्रमा गम्भीर समस्या हो । वर्षाको समयमा विद्यालय डुबानमा पर्ने अवस्था कायम रहे विद्यार्थीको नियमित पठनपाठन प्रभावित हुने र विद्यालय प्रति अभिभावकको विश्वास समेत कमजोर बन्न सक्ने उनीहरुले चिन्ता व्यक्त गरे ।
हाल सामुदायिक विद्यालयहरू बन्द रहेको अवस्था छ, आगामी भदौ १ गतेदेखि विद्यालय सञ्चालन हुँदा पनि यही अवस्था कायम रहे अध्ययन–अध्यापनको वातावरण थप चुनौतीपूर्ण बन्ने प्रधानाध्यापकहरूले बताए ।
विद्यालय खुल्नुअघि नै डुबानको समस्या समाधान, पानी निकासको उचित व्यवस्था, कक्षाकोठाको संरक्षण तथा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने माग स्थानीय अभिभावकहरुले गरे ।
वर्षौंदेखि एउटै समस्या दोहोरिदा पनि समाधान हुन नसक्नुले दुर्गा भगवती गाउँपालिकाको शिक्षा क्षेत्रमा बजेटको प्राथमिकता, कार्यान्वयन र अनुगमन कति प्रभावकारी छ ? भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ । अब विद्यालयको दुरावस्था अन्त्य गर्न जिम्मेवार निकायले जवाफदेहिता लिनुपर्ने स्थानीयहरु माग गरे ।
गत बर्ष बर्षा यामको समयमा परेको झरीबाट विद्यार्थीहरु बागमती प्राथमिक विद्यालयको अध्ययन गर्दाको फायल तस्वीर हो ।

आधाभुत विद्यालय बडहर्वाको दुराव्यस्था ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन