रौतहट, ३० साउन । रौतहटको चन्द्रपुर नगरपालिकामा गाई तथा बाछाबाछीमा लम्पी स्किन रोगको संक्रमण तीव्र रूपमा फैलिंदा पशुपालक किसानको लगानी जोखिममा परेपछि चिन्तीत बन्न थालेका छन् ।
संक्रमणका कारण नगर क्षेत्रका विभिन्न स्थानमा बाछाबाछी मर्न थालेपछि किसानको पशुपालनमा गरिएको लगानी नै जोखिममा परेको हुँदा उनीहरु निकै चिन्तीत बनेका हुन् ।
रोगबाट बिरामी पशुको उपचारमा किसानले हजारौ रुपैया खर्च गर्नुपरेको छ । उपचारमा ठूलो रकम खर्चिए पनि पशु बचाउन नसक्दा किसान दोहोरो मारमा परेको उनीहरुको गुनासो रहेको छ ।
चन्द्रपुर नगरपालिकाका पशु प्राविधिक रोशन लामाका अनुसार नगर क्षेत्रका विभिन्न स्थानमा लम्पी स्किनको संक्रमण बढिरहेको छ । हालसम्म दर्जनौ बाछाबाछी मरिसकेका छन् । समयमै प्रभावकारी नियन्त्रणका उपाय नअपनाए संक्रमण थप फैलिन सक्ने उनले बताए ।
पशु मर्न थालेपछि किसानले नगरपालिका माथि समयमै खोप उपलब्ध गराउन नसकेको आरोप लगाए । स्थानीय पशुपालक किसान रुद्र देवकोटाले रोग फैलिनुअघि नै खोप अभियान सञ्चालन गर्नुपर्ने भए पनि नगरपालिकाले ढिलाइ गरेको गुनासो गरे ।
“समयमै खोप लगाउन सके रोग फैलिने जोखिम कम हुन्थ्यो,” देवकोटाले भने ।
यस्तै सन्तपुरका पशुपालक किसान अर्जुन पहाडीले एउटा बाछाबाछी बिरामी भएपछि उपचारका क्रममा ५ देखि ७ हजार रुपैया सम्म खर्च गरेको बताए । तर यति धेरै खर्च गर्दा पनि पशु बचाउन नसकेको उनको गुनासो छ ।
“उपचारमा पैसा खर्च भयो, अन्त्यमा पशु नै मरेपछि किसानको लगानी सबै खेर गयो,” पहाडीले दुखेसो पोखे । लम्पी स्किनका कारण पशु बिरामी भएपछि उपचार खर्च बढ्नुका साथै दूध उत्पादन समेत घट्ने गरेको किसानहरू बताउँछन् । बाछाबाछी मर्न थालेपछि वर्षौं लगाएर पशुपालनमा गरेको लगानी डुब्ने अवस्था आएको उनीहरूको भनाइ छ ।
यता, चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजयकुमार काफ्लेले रोग नियन्त्रणका लागि खोप खरिदको तयारी भइरहेको बताए । खोप खरिद गरेर प्रभावित क्षेत्रमा रहेका गाई तथा बाछाबाछीलाई लगाउने तयारी भइरहेको उनले स्पष्ट पारे ।
पशु प्राविधिकहरूका अनुसार लम्पी स्किन नियन्त्रणका लागि खोप मात्र पर्याप्त नभई संक्रमित पशुको पहिचान, समयमै उपचार, गोठको सरसफाइ र रोग फैलाउने कीरा नियन्त्रणलाई समेत प्राथमिकतामा राख्न आवश्यक हुन्छ ।
तर चन्द्रपुर नगरपालिकामा हालसम्म कति पशु संक्रमित छन् र कति पशु मरिसकेका छन् भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन । नगरपालिकाले खोप खरिद गर्ने तयारी गरिरहेको बताए पनि खोप कहिले सम्म आइपुग्छ र प्रभावित सबै पशुलाई कहिले सम्म खोप लगाइन्छ भन्ने स्पष्ट कार्यतालिका सार्वजनिक नहुँदा किसान झन त्रसित बनेको छ ।
पशुपालनमा निर्भर किसानको संख्या उल्लेख्य रहेको चन्द्रपुरमा रोग नियन्त्रणमा ढिलाइ भए संक्रमण थप फैलिने र किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने जोखिम बढेको छ ।
किसानहरूले लम्पी स्किन नियन्त्रणका लागि तत्काल खोप अभियान सञ्चालन गर्न, संक्रमित पशुको निःशुल्क वा सहुलियत उपचारको व्यवस्था गर्न तथा गाउँ–गाउँमा पशु प्राविधिक परिचालन गर्न नगरपालिका सँग माग गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन