प्रभातकुमार झा
रौतहट, १ भदौ । मुलुकमा पटक–पटक राजनीतिक व्यवस्था परिवर्तन भए पनि आम नागरिकको दैनिकी भने अझै उस्तै पीडादायी छ ।
विकास र समृद्धिको आश्वासन सँगै पटक–पटक शिलान्यास भएका करोडौं करोडका आयोजना वर्षौ सम्म अलपत्र रहदा रौतहट–सर्लाहीका हजारौं नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको हो ।
रौतहटमा निर्माणाधीन टिकुलिया घाटको लालबकैया नदी पुल र सर्लाही–रौतहट जोड्ने दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा स्थित हुलाकी सडक अन्तर्गतको पुल र वडा नम्वर १ गंगापिपरा स्थित बागमती नदी पुल यसको ज्वलन्त उदाहरण बनेका छन् ।
वर्षौं देखि निर्माणाधीन यी तीन ठूला पुल सम्पन्न हुन नसक्दा वर्षायाममा स्थानीयवासीलाई डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै रहेका हुन् ।
गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा लालबकैया नदीमाथि निर्माण सुरु भएको पुल १५ वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन । पुल समयमा निर्माण नहुँदा गौर र इसनाथ नगरपालिकाका बासिन्दा अहिले पनि डुङ्गाबाट नदी पार गर्न बाध्य रहेको छ ।
वृद्धवृद्धा, बालबालिका, विद्यार्थी तथा बिरामी र सुत्केरी महिलाका लागि यो यात्रा झनै जोखिमपूर्ण बनेको बताइन्छ ।
२०७१ असार २९ गते तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले शिलान्यास गरेका उक्त पुल निर्माणका लागि १४ करोड ९३ लाख २७ हजार रुपैयाँमा पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त पुल २०७५ असार २५ गते भित्र सम्पन्न गर्नुपर्ने थियो ।
तर निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना अलपत्र परेको थियो । स्थानीयहरुको निकै गुनासा पछि २०८० असोज ९ गते बाँकी काम सम्पन्न गर्न आजाद–दिपु जेभीसँग २७ करोड ६६ लाखमा पुनः सम्झौता गरियो । सम्झौता अनुसार २०८१ चैत १ गते भित्र काम सक्ने प्रतिबद्धता गरिए पनि बजेट अभाव लगायतका कारण निर्माणले गति लिन सकेनन् ।
पुल निर्माण नहुँदा वर्षा याममा नदी पार गर्ने क्रममा स्थानीयको ज्यान जोखिममा पर्ने गरेको छ । २०७५ सालमा यही टिकुलिया घाटमा डुङ्गा पल्टिँदा पाँच जनाको मृत्यु भएको घटना अझै स्थानीयको मानसपटलमा ताजा नै छ । अहिले बाहिरी व्यक्तिले नदी पार गर्दा ३० रुपैयाँ तिर्नुपर्ने भए पनि गौर र इसनाथ नगरपालिकाका स्थानीयलाई यस वर्ष निःशुल्क डुङ्गा सेवा दिइएको डुङ्गा चालक पतिराम सहनीले बताए ।
यस्तै सर्लाही–रौतहट जोड्ने हुलाकी सडकखण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा र वडा नं. १ गंगापिपरा जोड्ने बागमती नदीको पुलको अवस्था पनि उस्तै छ ।
२०७३ असार २८ गते करिब ८६ करोड ३७ लाख ९ हजार रुपैयाँमा टुण्डी–रसुवा–पप्पु जेभीसँग ठेक्का सम्झौता भए पनि पटक–पटक म्याद थपिँदा समेत पुल पूर्ण हुन सकेको छैन । पछिल्लो समयमा म्याद अनुसार २०८३ कात्तिक १३ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि गंगापिपराको पुल विगत दुई बर्ष देखि अलपत्र अवस्थामा रहेको स्थानीयले आक्रोश पोखे ।
स्थानीयका अनुसार पुलको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको थियो । तर २०८१ असोजको बाढीले एक स्पान बगाएर फाउन्डेसनमा क्षति पुर्याएपछि निर्माण ठप्प भए । माटो परीक्षण र डिजाइन पुनरावलोकनका कारण काम प्रभावित भएको बताइए पनि राज्य पक्षबाट अपेक्षित तदारुकता नदेखाइएको स्थानीयको गुनासो छ ।
दैनिक एक हजारभन्दा बढी नागरिक जोखिम मोलेर नदी पार गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । पुल निर्माण सम्पन्न नहुँदा व्यापार, शिक्षा, स्वास्थ्य उपचार, रोजगारी तथा दैनिक आवागमनमा प्रत्यक्ष असर परेको छ ।
यसैगरी हुलाकी राजमार्ग अन्तर्गत दुर्गा भगवती–५ बडहर्वा स्थित वागमती नदीमा २०६६ सालमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका उक्त पुलको स्पानहरु निर्माण भएपनि बाँकी कार्यले गति नलिदा बर्षौ देखि करोडौं करोड राज्यको लगानी त्यसै बालुवामा ठडिएको अवस्थामा रहदा स्थानीयहरु जोखिमपूर्ण यात्रारत बाध्य छन् तर राज्य आफनै तालमा मस्त रहेको उनीहरुले गम्भीर आरोप लगाए ।
तिनै पुल समयमै निर्माण सम्पन्न भए रौतहट, सर्लाही सहित मधेसका विभिन्न जिल्लाबीचको आवागमन सहज हुनुका साथै स्थानीय व्यापार र आर्थिक गतिविधिले समेत गति लिने अपेक्षा गरिएको छ । तर वर्षौं देखि आयोजना अलपत्र पर्दा स्थानीयमा विकास प्रतिको विश्वास नै कमजोर हुँदै गएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा नागरिक समाजले तिनै पुलका लागि आवश्यक बजेट तत्काल सुनिश्चित गरी निर्माण कार्य युद्धस्तरमा अघि बढाउन सम्बन्धित मन्त्रालय र सडक विभाग सँग माग गरेका छन् । पटक–पटक म्याद थपेर पनि काम अघि नबढाइए आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरूले दिए ।
राजनीतिक नेतृत्वका लागि शिलान्यास र भाषण उपलब्धिको विषय बने पनि नागरिकका लागि पुल कहिले बन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ । वर्षौँदेखि डुङ्गामा जीवन जोखिममा राखेर नदी पार गरिरहेका नागरिक अब आश्वासन होइन, पुलमैत्री विकासको प्रत्यक्ष परिणाम खोजिरहेका छन् रौतहट र सर्लाहीका नागरिकहरु ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन