प्रतिबन्धित लागुऔषध सहित चन्द्रपुरबाट सुमन विक पक्राउ

चन्द्रपुर (रौतहट), २९ पुस । प्रतिबन्धित लागु औषध सहित चन्द्रपुरको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको नियमित गस्ती टोलीले विहिवार दिउसो दिउसो १ बजेको समयमा चन्द्रपुर नपा ५ थलही टोल स्थित भित्री बाटोमा हिडिरहेको अवस्थामा शंकाको आधारमा चेकजाँच गर्दा सोही स्थानको २० बर्षिय सुमन विकलाई प्रतिबन्धित लागु औषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
पक्राउ परेका युवक विकको साथबाट डाइजेल्याव इन्जेक्सन आइपी २ एमएलको ३८ थान, बुपरेनोफिन इन्जेक्सन आईपी २ एमलको ३६ थान, आरएक्स प्रोमेथराजिन हाइड्रोक्लोराइड इन्जेक्सन आइपी फेनेरगन २ एमएलको ३९ थान, नाइट्राभेट १० ट्याब्लेट ३२ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए ।
पक्राउ परेका विकलाई लागु औषध ओसार पसार ऐन तर्फ जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान भईरहेको समेत उनले जानकारी दिए ।