बारा, ११ भदौं । बारा–पर्सासँग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी विरुद्ध भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) ले निगरानी तथा कारबाही तीव्र बनाएको छन् ।
पूर्वी चम्पारण जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातको निर्देशनपछि सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रण कार्यका लागि भारतीय सुरक्षा निकायले सक्रियता बढाएका हुन् ।
रक्सौल र आदापुर क्षेत्रमा गरिएको छुट्टाछुट्टै कारबाहीमा १९२ किलो ४२६ ग्राम गाँजा बरामद गरिएको छ । उक्त घटनामा एक नेपाली नागरिक सहित दुई जना पक्राउ परेको हो ।
बुधबार अपराह्न रक्सौलको हरैया थाना क्षेत्रअन्तर्गत सीवान टोलमा हरैया प्रहरी र एसएसबीको संयुक्त टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको ४ किलो ४२६ ग्राम गाँजा बरामद गरेको छ ।
प्रहरीले पर्सा जिल्ला सुगौली थाना क्षेत्रअन्तर्गत कुहडी निवासी २५ वर्षीय अवध किशोर प्रसादलाई पक्राउ गरेको छ । उनले प्रयोग गरेको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका प्रसाद विरुद्ध भारतीय एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।
यसैगरी, आदापुरको हरपुर थाना क्षेत्रमा गरिएको अर्को कारबाहीमा १८८ किलो गाँजा बरामद भएको छ । गोप्य सूचनाका आधारमा बरवा पेट्रोल पम्पनजिक सवारीसाधन जाँच गर्ने क्रममा बीआर–३०जीबी–२२८० नम्बरको १० चक्के ट्रकबाट गाँजा बरामद गरिएको छ ।
प्रहरीका अनुसार ट्रकको इन्जिन बोगीमा विशेष रूपमा बनाइएको गोप्य बक्सभित्र १२ वटा पेटीमा गाँजा लुकाएर राखिएको थियो । घटनामा ट्रक चालक मुजफ्फरपुर जिल्लाको कान्ती थाना क्षेत्र अन्तर्गत हरिचन्दा निवासी शौकत अलीलाई पक्राउ गरिएको छ ।
सीमापार तस्करीको सञ्जाल माथि प्रश्न ?
एकै दिन भारत–नेपाल सीमावर्ती क्षेत्रमा भएका दुई छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा गाँजा बरामद हुनुले सीमापार लागुऔषध तस्करीको सञ्जालप्रति गम्भीर प्रश्न उठाएको छ ।
नेपालबाट मोटरसाइकल तथा ट्रकमार्फत ठूलो परिमाणमा गाँजा भारतीय सीमासम्म पुगिरहेको अवस्थामा सीमामा हुने सुरक्षा जाँच तथा निगरानी प्रणाली प्रभावकारी भए–नभएको विषय माथि चर्चाको बिषय बनेको छ ।
विशेषगरी नेपालका विभिन्न स्थानबाट गाँजा भारततर्फ लैजाने सम्भावित मार्ग र तस्करीमा संलग्न समूहको सञ्जालबारे अनुसन्धान आवश्यक देखिएको छ ।
यद्यपि पक्राउ परेका व्यक्तिहरूको वास्तविक संलग्नता, गाँजा कहाँबाट ल्याइएको थियो र यसको अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषय भने अनुसन्धानपछि मात्र खुल्नेछ ।
भारतीय प्रहरीले दुवै घटनामा बरामद गाँजा, मोटरसाइकल र ट्रक नियन्त्रणमा लिई एनडीपीएस ऐनअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन