रौतहट, १८ भदौं । टिकटक मार्फत फर्निचर बिक्री गर्ने बहानामा मोबाइल बैंकिङको पासवर्ड हात पारेर रकम ठगी गर्ने दुई जना विरुद्ध रौतहट प्रहरीले अनलाईन ठगी मुद्दा दर्ता गरेको छ ।
कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकाका २० वर्षीय सुरजप्रसाद यादव र २२ वर्षीय भोलिन्द्रकुमार यादव विरुद्ध प्रहरीले अनलाइन ठगी सम्बन्धी मुद्दा दर्ता गरिएको हो ।
जिल्ला अदालत रौतहटले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको छ ।
एक साताअघि सिरहाको नवराजपुर गाउँपालिका–३ का ४५ वर्षीय वैद्यनाथकुमार यादवलाई टिकटक मार्फत फर्निचर बिक्री गर्ने भन्दै सम्पर्क गरेको थियो । कुराकानीका क्रममा मोबाइलको स्क्रिन सेयर गराई मोबाइल बैंकिङको पासवर्ड प्राप्त गरेपछि पीडितको खाताबाट ४७ हजार १९८ रुपैयाँ निकालिएको आरोप लगेको छ ।
खाताबाट रकम निकालिए पछि बैंकिङ विवरणका आधारमा आरोपीको पहिचान र ठेगाना पत्ता लगाएका पीडितले मंगलबार इलाका प्रहरी कार्यालय कटहरियामा लिखित उजुरी दिएका थिए । त्यसपछि वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रकाश साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुरज र भोलिन्द्रलाई पक्राउ गरेको बताइएको छ ।
रकम फिर्ता गराएर घटना मिलाउने प्रयास भएको आरोप
आरोपी पक्राउ परेपछि घटनाले अर्को मोड लिएको प्रहरी स्रोतले बताए । स्थानीय केही जनप्रतिनिधि तथा बिचौलियाले पीडितलाई रकम फिर्ता गराइदिने भन्दै जाहेरी नदिन सहमत गराउने प्रयास गरेको आरोप लागेको छ ।
पीडितलाई रकम फिर्ता गराएर घर पठाउने र आरोपीलाई छुटाउने प्रयास भइरहेको जानकारी पाएपछि घटनाबारे मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलाई जानकारी गराइएको थियो । अधिकारीले सानो रकमको ठगी देखिए पनि यसको पछाडि अन्य व्यक्ति वा संगठित समूहको संलग्नता हुनसक्ने भन्दै घटनालाई गम्भीर रूपमा लिएर कानुनी प्रक्रियाबाट अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रहरीले जनाए । त्यसपछि दुवै जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
४७ हजारको ठगी मात्रै हो कि ठूलो सञ्जाल ?
प्रहरीले घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने कोणबाट अनुसन्धान अघि बढाएको जनाए । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताए ।
डिजिटल ठगीमा बैंक खाता, मोबाइल नम्बर, डिजिटल वालेट तथा अन्य प्राविधिक माध्यम प्रयोग गर्ने समूह समेत संलग्न हुनसक्ने भएकाले प्रहरीले घटनाको प्राविधिक पक्षसमेत अनुसन्धान गरिरहेको जनाए ।
स्थानीय स्तरमा कटहरिया क्षेत्रमा यसअघि पनि यस्तै प्रकृतिका घटना हुने गरेको दाबी सुनिदै आएको छ । पीडितलाई रकम फिर्ता गराएर घटना मिलाउने प्रवृत्तिले यस्ता अपराधलाई निरुत्साहित गर्नुको सट्टा थप प्रोत्साहन गर्न सक्ने स्थानीयको गुनासो छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन