माघ २ बाट “बुस्टर डोज” खोप लगाउने सरकारको तयारी

   १ माघ २०७८, शनिबार १८:३९  

रौतहट, १ माघ । कोभिड १९ को तेश्रो लहरको बढ्दै गएको संक्रमणलाई मध्यनजर राख्दै नेपाल सरकारले फ्रन्टलाईनमा काम गर्ने व्यक्तिलाई माघ २ गते देखि कोरोना भाईरस विरुद्धको “बुस्टर डोज” खोप दिने अभियानको तयारी गरेको छ ।
कोभिड संक्रमण तिव्र हुन थालेपछि अग्रपंक्तिमा रहेर खटिने चिकित्सक, सफाईकर्मी, सहितलाई भोली देखि “बुस्टर डोज” खोप दिने अभियान थालेको हो ।
यसैगरी ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रामा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि “बुस्टर डोज” खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
“बुस्टर डोज” का लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको जनाइएको छ । “बुस्टर डोज” कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा क्यान्सरको रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् । “बुस्टर डोज” मा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ । कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘ “बुस्टर डोज” खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै