–राकेश कुमार यादव
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ८ को लक्ष्मीपुर टोल, एकातिर वागमती नदी, अर्कोतिर छिमेकी मुलुक भारतीय सीमा तर्फको दशगजा क्षेत्र छ ।
यो गाउँ हरेक वर्षायाममा बाढीबाट प्रभावित हुने गाउँ हो । यही गाउँको गल्लीमा हिँड्दै गर्दा महिलाको एउटा समूहसँग जम्काभेट भयो । एउटा हाते माइकमा बोलेर टोलै पिच्छे घुमेर घरघरमा बाढी आउँदै गरेको सूचना दिँदै अघि बढिरहेका थिए ।
एकैछिन रोकेर, “घाम लागिरहेको बेला किन बाढीको सूचना दिँदै हुनु हुन्छ ?” जिज्ञासा राखे । समूहको अगुवाइ गरिरहेकी रूपकली देवीले अघि सरेर जवाफ दिइन्, “यहाँ घामलागे पनि पहाडमा परेको पानीले बाढी आईपुग्ने त यही हो । जिल्ला प्रशासन कार्यालय, रौतहटबाट प्राप्त खबर अनुसार नै हामी यो सूचना प्रवाह गर्दैछौ” । उनले अझ् थपिन “जल तथा मौसम विज्ञान विभागले पहाडी भेकमा मनसुन सक्रिय भएर धेरै ठाउँमा पानी परेको र ठूलो बाढी आउन सक्ने जोखिम रहेको भन्ने सूचना पनि जारी गरेकाले गाउँका मानिसलाई सतर्क हुन सूचना दिइरहेका छौं” ।
ग्रामीण भेगकी एक सामान्य महिलाबाट यति प्राविधिक र व्यवस्थित जवाफ सुन्दा मनमा अर्को प्रश्न उब्जियो, गाउँकी सामान्य महिलाले विपद् व्यवस्थापनको यत्रो जानकारी कसरी राख्नुभयो ? थप जानकारी लिने रूचि भएर उनीहरूलाई पच्छ्याउन थाले ।
समुदायबाटै तयार भएको सुरक्षा पंक्ति
केही बेरको सूचना प्रसार पुरा भएपछि रूपकली देवीले सुनाइन्, उनको गाउँमा समुदाय स्तरको विपद् व्यवस्थापन समिति गठन भएको छ र सूचना प्रसारमा जुटेकाहरू यसका पदाधिकारी हुन् । “भारी वर्षाले बाढी आउनसक्ने सम्भावना, अवस्थाबारे जानकारी पाउनासाथ त्यही सूचना अनुसार बाढी आउँदा अपनाउनुपर्ने सावधानी, गर्नुपर्ने पूर्वकार्य र जोहो गर्नुपर्ने आवश्यक सामग्रीबारे स्थानीयलाई सचेत गराउनु हाम्रो जिम्मेवारी हो,” रूपकली देवीले विस्तार पूर्वक सूनाईन् ।
कुराकानी अगाडि बढ्यो ! यो समूह २०८२ सालको वैशाखमा गठन भएको रहेछ। रौतहटको बाढी तथा अन्य बहुप्रकोपीय जोखिममा रहेका समुदायलाई सुरक्षित, सजग तथा विपद् उत्थानशील बनाउन “पूर्वानुमानमा आधारित पूर्वकार्यमा महिलाको आवाज र नेतृत्व” परियोजना सञ्चालनमा छ।यो परियोजनाले विपद् आएपछि मात्र राहत तथा उद्धारमा केन्द्रित हुने परम्परागत दृष्टिकोणभन्दा फरक रूपमा जोखिमको पूर्वानुमान गर्ने, समयमै पूर्वसूचना प्राप्त गर्ने र विपद् आउनुअघि नै आवश्यक पूर्वकार्य गर्ने प्रणालीलाई समुदाय स्तर सम्म सुदृढ गर्ने लक्ष्य राखेको छ ।
विशेषगरी विपद् जोखिम व्यवस्थापनमा महिलाको अर्थपूर्ण सहभागिता तथा नेतृत्वलाई केन्द्रमा राख्दै समुदाय, स्थानीय सरकार र अन्य सरोकारवालाबीचको समन्वयलाई बलियो बनाउने काम भइरहेको छ । केयर नेपालको आर्थिक सहयोग, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) को प्राविधिक सहयोग र अभियान नेपालको कार्यान्वयनमा यो परियोजना सञ्चालित छ । परियोजना अन्तर्गत समुदाय स्तरमा ५ वटा समुदाय विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।
परियोजनाले बागमती जलाधार क्षेत्रमा काम गर्दै आएको छ, जस अन्तर्गत राजदेवी नगरपालिकाका ६ र ८ तथा दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ५ पर्छन् । यी ठाउँमा हालसम्म पाँचवटा समुदाय विपद् व्यवस्थापन समिति र पाँचवटै महिला समूह गठन भइसकेका छन्, जसमध्ये लक्ष्मीपुरको समूह पनि एक हो ।
संस्थाले विपद्को बेला के कसरी सुरक्षित हुनुपर्छ, राहत तथा उद्धार कसरी गर्नुपर्छ भन्ने बारे तालिम दिएको र उद्धार कार्यमा चाहिने आवश्यक सामग्री समेत उपलब्ध गराएको रूपकली देवीले बताइन् ।
कुराकानीकै क्रममा भदौ १० गते रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीको कुरा उठ्यो, जसमा ठूलो जनधनको क्षति भएको थियो । त्यो समाचार सुन्दा दुःखी भएको बताउँदै रूपकली देवीले आफूहरूले पनि बाढी आउनुअघि नै सतर्कता अपनाउनुपर्ने जानकारी दिइरहेको सुनाउँदा एक किसिमको सन्तोष र गर्व पनि झल्किन्थ्यो। “महिलाले घरको काम बाहेक पनि यस्तो जिम्मेवारी उठाउन सक्छन् भन्ने विश्वास अब गाउँमा बढेको छ,” उनले भनिन् ।
पूर्व सूचनाले घटाउँदैछ क्षति
लक्ष्मीपुर बागमती नदी र लालबकैया खोलाको बाढीबाट वर्षेनि जोखिममा पर्ने गाउँ हो । राजदेवी नगरपालिकाको ६ र ८ मा हरेक वर्ष जस्तो भौतिक तथा मानवीय क्षति हुने गरेको थियो । समूहकी अध्यक्ष समेत रहेकी रूपकली देवीका अनुसार २०८१ सालको बाढीले गाउँको दक्षिणी भेगमा धेरै क्षति पुर्याएको थियो । तर २०८२ सालको असोज १८ गते आएको बाढीमा भने पूर्व सूचनाका कारण क्षति निकै कम भयो ।
“त्यो पटक बाढी आउँदै छ भनेर हामीले पहिले नै सूचना दियौ । प्रभावित हुनसक्ने गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई समयमै सुरक्षित स्थानमा पुर्यायौ,” रूपकली देवीले सम्झिइन् । यो काम चुनौतीपूर्ण भए पनि मानवीय सहयोग गर्ने ठूलो अवसर हो भन्ने पनि उनले बताइन् ।
यद्यपी तराई–मधेशकी सामान्य महिलाका लागि यो बाटो सजिलो थिएन । समूहकी कोषाध्यक्ष चिन्ता देवी बैठाले सुरुका दिन सम्झिइन्, “राति, दिउँसो, बिहान जुनसुकै बेला मौसम पूर्वानुमानमा आधारित सूचना समुदायमा पुर्याउनुपर्ने हुँदा सुरुमा निकै अप्ठ्यारो लाग्थ्यो । पछि घरपरिवारका मानिसले सहयोग गर्न थालेपछि काम गर्न थप बल पुग्यो ।” उनले हाँस्दै थपिन्, “पहिले श्रीमान, सासू–ससुराले ’के गर्न लागिस्, महिला भएर यो काम गर्नु राम्रो होइन’ भन्थे । विस्तारै बुझेपछि अहिले उहाँहरूले पनि सहयोग गर्नुहुन्छ । अब हामीलाई मुस्किल छैन, घरपरिवार मात्र होइन, छर–छिमेक, महिला–पुरुष पनि सँगै काम गर्ने गरेका छौं” ।
“हामी पीडितबाट उद्धारकर्मी भयौं”
तालिममा सिकेको सीप र उपलब्ध गराइएको सामग्रीको प्रयोग गर्दै समूहले गतसाल एक जना महिलालाई बाढीबाट उद्धार गरेको थियो । २०८२ सालको असोजमा दसैंको भोलिपल्ट भएको अविरल वर्षाका कारण बाढी आयो । सूचना पाए पनि एक महिला घरबाहिर निस्कन ढिलो हुँदा पानीमा फसिन् । “उनी फसेको खबर पाउने बित्तिकै हामीले लाइफ ज्याकेट र डोरी लिएर गयौँ र सुरक्षित उद्धार गर्यौं,” समूहका अर्की सदस्यहरूले सुनाईन् ।
समूहकी सचिव गीता देवी रामले यही अनुभवलाई एउटा वाक्यमा यसरी सुनाईन्, “हामी महिला पीडित मात्र होइनौं, परेको संकटमा उद्धारकर्मी पनि हौं ।” उनले यसमा वडा अध्यक्षको राम्रो सहयोग रहेको बताउँदै काम गर्दा भोग्नुपरेका व्यावहारिक कठिनाइ पनि सुनाइन्, “वर्षा र रातिको समयमा सूचना दिन हामीलाई साँच्चै समस्या हुन्छ । हामी सँग ठूलो टर्च, छाता र रेनकोट लगायतका सामग्रीहरू थप मात्रामा चाहिएको छ ।”
समूहले बाढी–पहिरो सम्बन्धी सूचना प्रवाह मात्र गर्दैन । बालविवाह न्यूनीकरण, दाइजो प्रथा अन्त्य र चिसो तथा गर्मी मौसममा अपनाउनुपर्ने सावधानीबारे पनि यिनै महिलाले गाउँमा सचेतना फैलाउने सामाजिक काम पनि गर्दै आएका छन् ।
एउटा सूचना, धेरै बाटो
लक्ष्मीपुरका महिला समूहले प्रयोग गर्दै आएको हाते माइक जति साधारण देखिन्छ, त्यसको पछाडि उत्तिकै व्यवस्थित प्रणाली उभिएको छ । परियोजनाका फिल्ड कोर्डिनेटर आकाश सिंहका अनुसार बागमती नदीको जलसतह निगरानी गर्न सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ र जलस्तर बढ्दा साइरनले सचेत गराउँछ ।
मौसम सम्बन्धी सूचना आईभीआर (स्वचालित फोन प्रणाली) मार्फत पनि पुर्याइन्छ भने समुदाय स्तरमा माइकिङ, स्थानीय विपद् व्यवस्थापन समिति र पूर्व चेतावनी कार्यदलले निगरानी गर्छन् । यति मात्र होइन, गाउँमा भएका मन्दिर र मस्जिदका अगुवा समेत यही सूचना संजालमा जोडिएका छन् । “बाढी आउनेबारे सूचना पाउनेबित्तिकै समयमै प्रभावित हुनसक्ने गाउँमा सूचना प्रवाह गर्ने गरिएकाले यसले साँच्चै सहयोग पुर्याएको छ,” सिंहले बताए ।
घरको चुलोचौका देखि निर्णयको टेबलसम्म
परियोजनाले महिलालाई विपद्को समयमा जोखिममा पर्ने समूहका रूपमा मात्र नभई जोखिम पहिचान गर्ने, पूर्वसूचना पाउने, निर्णय लिने र समुदाय परिचालन गर्ने अगुवाकै रूपमा स्थापित गर्ने प्रयास पनि गरेको छ ।
“विमेन लिड इन इमर्जेन्सिज“ (डब्लूएलआईई) समूह मार्फत महिलाको नेतृत्व, आत्मविश्वास, निर्णय प्रक्रियामा सहभागिता, लैंगिक भूमिका र शक्ति सम्बन्ध जस्ता विषयमा नियमित छलफल गराइन्छ, जसले महिलाको नेतृत्वमा रहेका सामाजिक अवरोध पहिचान गर्न र क्रमशः तोड्न मद्दत गरेको छ ।
चिन्ता देवी बैठाले सुनाईन, श्रीमान, सासू–ससुराको सुरुको विरोध र पछिको साथ, त्यही परिवर्तनको एउटा उदाहरण हो । साथसाथै विपद् वा आपत्कालीन अवस्थामा हुनसक्ने लैंगिक हिंसा, महिला–बालबालिकाको सुरक्षा र यौन दुव्र्यवहार रोकथाम बारे पनि छुट्टै सचेतना कार्यक्रम चलाइन्छ, ताकि विपद्ले महिला र बालबालिकालाई थप जोखिममा नधकेलोस् ।
खेतबारीसम्म पुगेको पूर्वतयारी
लक्ष्मीपुर र वरपरका गाउँका धेरै परिवारको जीविका खेतीमै भर पर्छ, र बाढीले सबै भन्दा बढी क्षति पुर्याउने ठाउँ पनि खेतबारी नै हो । यसैलाई ध्यानमा राखेर परियोजनाले जलवायु–अनुकूल खेतीलाई पनि प्राथमिकतामा राखेको छ ।
राजदेवी नगरपालिकाका ६ र ८ का १३९ र दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ५ का ८६ गरी जोखिममा रहेका कूल २२५ किसान परिवारलाई हार्दिनाथ–१ धानको बीउ, मल र सूक्ष्म पोषकतत्व वितरण गरिएको छ, साथै त्यसको उचित प्रयोगबारे अभिमुखीकरण पनि गरिएको छ ।
मौसम र खेतीसम्बन्धी उपयोगी सन्देश आईभीआर र स्थानीय एफएम रेडियो मार्फत किसानसम्म पुर्याउने काम पनि नियमित भइरहेको छ, ताकि बाढी वा खडेरी आउनु अघि नै किसानले आवश्यक तयारी गर्न सकून् ।
बाढीको मात्र कुरा होइन, अत्यधिक गर्मी र चिसोबाट समुदायलाई जोगाउन स्थानीय तहसँग मिलेर मानक कार्यसञ्चालन विधि (एसओपी) तयार पार्ने काम पनि भएको छ, जसमा ज्यालादारी मजदुर, गर्भवती, बालबालिका, वृद्धवृद्धा र पशुधनजस्ता बढी जोखिममा पर्ने समूहलाई विशेष ध्यान दिइएको छ ।
विपद् आइसकेपछि मात्र सामग्री खोज्नुपर्ने अवस्था हटाउन समुदाय विपद् व्यवस्थापन समितिहरूले नै जोखिममा रहेका घरधुरीका लागि आवश्यक सामग्री पहिल्यै जम्मा गरी राख्ने काम पनि थालेका छन् । विपद्पछि मानसिक तनावमा पर्नेलाई सघाउन समुदायस्तरका मनोसामाजिक कार्यकर्तासँग समेत समन्वय गर्ने गरिएको छ ।
यसका साथै गाउँकै २५ जना युवाहरूलाई विपद् स्वयंसेवकलाई तालिम दिई जुनसुकै बेला परिचालन हुनसक्ने गरी तयार राखिएको छ । यसैगरी १० जना स्थानीय युवालाई मोबाइल एप मार्फत वर्षा मापन गर्ने र विपद् सम्बन्धी तथ्यांक अद्यावधिक गर्ने “नागरिक वैज्ञानिक” को रूपमा परिचालन गरिएको छ, जसले जम्मा गरेको तथ्यांकले भविष्यको जोखिम पहिचानमा सघाउँछ ।
वडा साक्षी छः सूचनाले जोगाउँछ जीवन
विपद् पूर्वतयारी अनि पूर्वकार्यमा महिलाहरूको सकृयता बारे थपकुरा गर्नवडा नम्बर ८ का वडाध्यक्ष रामईश्वर यादवसँग भेट गरे । उनले महिलाहरूको सक्रियताले समुदायलाई प्रत्यक्ष फाइदा पुगेको बताए । “२०८१ सालको बर्खामा यहाँ १०० भन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएका थिए । तर २०८२ सालमा पूर्वसूचना प्रवाह भएकै कारण पिढित परिवारको संख्या निकै घट्यो,” यादवले सुनाए ।
२०८१ सालको बर्खेबाढीले बागमती नदीको बाँध भत्किँदा लक्ष्मीपुरमा मात्रै करिब तीन सयभन्दा बढी घर डुबानमा परेका थिए । अहिले वडामा सुरक्षित भवन समेत निर्माण भइसकेकाले प्रभावितलाई उद्धार गरी सुरक्षित राख्न सहज भएको यादवले बताए । “महिलाहरूमा पनि धेरै परिवर्तन आएको छ । निर्णय गर्न र नेतृत्व गर्न सक्ने क्षमता विकास भएको देख्दा मलाई खुसी लाग्छ। जनचेतना विकाससँगै सामाजिक क्षेत्रमा उनीहरूको योगदान उल्लेखनीय छ,“ वडाध्यक्ष यादवले भने ।
राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारीप्रसाद यादवले पनि ‘सजगसमाज’ परियोजनाले राम्रो काम गरेको र यसले स्थानीय सरकारको कार्यभार कम गरेको र विपद्को जोखिममा रहेका नागरिकको जीवन बचाउने काममा समुदायलाई सहयोग गरेकोमा धन्यवाद दिएका छन् । विकास साझेदारहरूको सहयोगमा कतिपय परियोजनाहरू दीगोन भए पनि यसमा स्थानीय समुदाय त्यसमा पनि महिलाहरुको अगुवाईमा कार्यक्रम संचालन भएकाले परियोजना अवधि सकिए पनि जोखिम न्यूनीकरणको काम दीगो रूपमा काम हुने विश्वास व्यक्त गरेका छन् ।
किन यो काम झन् महत्त्वपूर्ण छ ?

नेपाल भूकम्प, बाढी र पहिरोजस्ता बहुविपद्को उच्च जोखिममा रहेको मुलुक हो, र तराई–मधेश क्षेत्र मनसुनी बाढीको हिसाबले सबैभन्दा बढी जोखिममा पर्ने भूभाग मानिन्छ । बागमती, लालबकैया लगायत साना–ठूला नदीले हरेक वर्षायाममा मधेशका बस्तीलाई सताउने गर्छन्। हालै मात्र रसुवा र भोटेकोशीमा आएको विनाशकारी बाढीले हजारौंको ज्यान लिएको र खर्बौं जनधनको क्षति पुर्याएको सन्दर्भले नेपालमा पूर्वसूचना र सामुदायिक तयारी कति अपरिहार्य छ भन्ने फेरि एकपटक देखाइ दिएको छ ।
मधेश प्रदेशका महिलाको अवस्थाबारे विभिन्न अध्ययन र प्रतिवेदनले पुरूष प्रधान समाज, शिक्षामा पछौटेपन र कठोर पितृसत्तात्मक अभ्यासका कारण यहाँका महिला अझै धेरै हिसाबले सीमान्तकृत रहेको औंल्याउँदै आएका छन्। महिला विरूद्धको हिंसासम्बन्धी विभिन्न संस्थाको तथ्यांकमा पनि मधेश प्रदेश देशभरकै सबैभन्दा बढी घटना दर्ता हुने प्रदेशहरूमध्ये पर्छ। यस्तो पृष्ठभूमिमा प्रायः मधेशका महिलालाई पीडित वा असहायको रूपमा मात्र चित्रण गरिँदै आएको छ ।
लक्ष्मीपुरका महिलाले भने त्यही परिचयलाई क्रमशः चुनौती दिँदै आएका छन् । घरभित्रको जिम्मेवारीका साथसाथै उनीहरूले गाउँको सुरक्षा, सूचना प्रवाह र उद्धार कार्यको जिम्मा पनि आफ्नै काँधमा लिएका छन् । सुरुमा परिवारकै विरोध छल्दै हिँडेका यी महिला आज गाउँका पुरुष र वडा प्रशासन दुवैको भरोसा बनेका छन् ।
उनीहरूले प्रमाणित गरेका छन्, सही ज्ञान, न्यूनतम सामग्री र संस्थागत साथ पाए ग्रामीण मधेशका सामान्य महिला पनि आफ्नो समुदायको ज्यान बचाउने अगुवा बन्न सक्छिन् । सजग समाज परियोजनाको दीर्घकालीन लक्ष्य पनि यही हो, र अहिले सुरु भएको पूर्वसूचना र पूर्वकार्यको यो प्रणाली परियोजना सकिएपछि पनि स्थानीय सरकार र समुदायकै आफ्नै संरचनाभित्र दीगो अनि भरपर्दो प्रणालीको रूपमा रहने परियोजनाले अपेक्षा गरेको छ ।
राजदेवीको लक्ष्मीपुरमा गल्ली गल्लीमा माइक बोकेर हिँड्ने महिलाहरूको समूहले सिकाएको पाठ स्पष्ट छ, विपद् सामु सबैभन्दा ठूलो सुरक्षा भनेको पर्याप्त पूर्वतयारी, पूर्वकार्य र पूर्व सूचना अनि त्यसलाई सुन्ने, बुझ्ने र कदम चाल्ने साहस बोकेको सजग समुदाय ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन