रौतहट, २४ भदौं । भारतीय क्षेत्रबाट चोर बाटो भएर सेटिङमा भित्रर्याइने कुखुराको कारण नेपाली कुखुरा किसान तथा व्यवसायी गम्भीर संकटमा परेका छन् ।
सरकारले पशुपन्छी तथा पशुजन्य उत्पादनको अवैध ओसारपसार नियन्त्रणका लागि विभिन्न कानुनी व्यवस्था गरे पनि रौतहटका सीमावर्ती क्षेत्रका चोर नाकाहरुबाट भारतीय कुखुरा भित्रिने क्रम नरोकिएको किसान तथा व्यवसायीहरुले गम्भीर आरोप लगाएका हुन् ।
विशेषगरी गौर बजार सहित जिल्लाका विभिन्न क्षेत्रमा भारतीय कुखुराको मासु तथा अण्डा खुलेआम रुपमा बिक्री भइरहेता पनि सम्बन्धित निकायको सेटिङको कारण किसान तथा व्यवसायीहरुको व्यवसाय दिनप्रति दिन चौपट भइरहेको संचारकर्मी समक्ष गुनासो सुनाए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखा गौर स्थित कार्यालयमा बुधवार नेपाल कुखुरा व्यवसायी संघ तथा किसानहरुद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका पदाधिकारीहरूले रामपुर खाप, बंकुल, लक्ष्मीपुर लगायतका सीमावर्ती नाकाहरुबाट दैनिक रूपमा भारतीय कुखुरा भित्रिने गरेको दाबी गरे ।
संघका सचिव राधेश्याम साहले दैनिक १० टनभन्दा बढी भारतीय कुखुरा अवैध रूपमा आईरहेको छ । जसको कारण सस्तो मूल्यमा भित्रिने भारतीय कुखुराबाट नेपाली किसानले उत्पादन गरेको कुखुराले बजार नपाउनुको साथै उचित मूल्य समेत पाउन नसकेको उनको कथन रहेको छ ।
किसानका अनुसार दाना, औषधि, चल्ला तथा अन्य उत्पादन सामग्रीको लागत निरन्तर बढिरहेका बेला अवैध रूपमा भित्रिने सस्तो भारतीय कुखुरासँग प्रतिस्पर्धा गर्नुपर्दा उत्पादन लागत समेत उठाउन कठिन भएको गुनासो गरे ।
“कुखुरा उत्पादन गर्न किसानले ठूलो लगानी गरेको तर सीमा पारीबाट अवैध रूपमा सस्तो कुखुरा भित्रिएपछि हाम्रो उत्पादन बिक्री हुन छाडेको छ,” संघका सचिव साहले भने, “यसरी नै तस्करी बढ्दै गए धेरै किसान व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आउँछ ।”
उनले केही मासु पसल सञ्चालकले संगठित रूपमा भारतीय कुखुराको तस्करी गरिरहेको आरोप लगाए ।
संघका उपाध्यक्ष रंजित रामले सीमामा खटिएका सुरक्षाकर्मीसँगको मिलेमतोमा भारतीय कुखुरा नेपाली बजारमा भित्रिरहेको आरोप लगाए ।
किसानहरूले सीमा नाका तथा बजार क्षेत्रमा प्रभावकारी निगरानी र अनुगमन बढाउन प्रशासनसँग पटक पटक माग गर्दै आएपनि सो अनुसार कार्यान्वयन नहुँदा कतै सुरक्षाकर्मी संग सेटिङमा कारोवार भईरहेको त छैन अशंका हुनु स्वभाविकै रहेको उनको भनाई रहेको छ ।
सीमावर्ती क्षेत्रमा अवैध रूपमा खोर बनाएर कुखुरा भित्रर्याउने तथा बिक्री वितरण गर्ने व्यक्तिमाथि तत्काल छानबिन गरी कडा कानुनी कारबाही गर्न उनीहरुले संचार क्षेत्रको माध्यमबाट राज्य संग जोडदार रुपमा माग उठाए ।
स्वास्थ्यमा जोखिमको समेत चिन्ता ?
किसानहरूले अवैध रूपमा भित्राइएका कुखुरा आवश्यक स्वास्थ्य परीक्षण र क्वारेन्टिन प्रक्रिया बिनै बजारमा पुग्ने गरेका अबैध कुखुराबाट उपभोक्ताको स्वास्थ्यमा समेत जोखिम बढ्न सक्ने बताए ।
विशेषगरी रोगी वा अस्वस्थ कुखुरा परीक्षण बिनै बजारमा बिक्री भएमा पशु स्वास्थ्यसँगै सार्वजनिक रुपमा स्वास्थ्यमा समेत असर पर्न सक्ने उनीहरुले चिन्ता व्यक्त गरे ।
नेपाली कुखुरा व्यवसायलाई संरक्षण गर्न भारतीय कुखुराको अवैध आयात तत्काल रोक्न, सीमामा कडाइ गर्न र बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग माग गरे ।
प्रशासनले तत्काल ठोस कदम नचाले नेपाली कुखुरा उत्पादन क्षेत्र नै धराशायी हुने चेतावनी दिँदै किसानहरूले सीमावर्ती क्षेत्रमा नियमित निगरानी, कडाइका साथ क्वारेन्टिन परीक्षण र अवैध ओसारपसारमा संलग्नमाथि कारबाही गर्न माग गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन