पर्यटकिय क्षेत्रको रुपमा रहेका ठमेलमा चिनियाँ नागरिकको रजगज

काठमाडौं, ३ माघ । संघिय राजधानी काठमाडौंको मुख्य आकर्षक एवं पर्यटकिय र व्यवसायीक क्षेत्रको रुपमा प्रख्यात रहेको ठमेल अचेल विदेशी नागरिकहरुको चलखेलको मुख्य केन्द्रविन्दु बन्दै गएको छ ।
पर्यटकको लागि विभिन्न आकर्षक मानिएको ठमेलमा व्यापारको नाममा चिनियाँ नागरिकहरु पकड बलियो हुँदै गएको हुदा कतिपयले भन्छन् कि ठमेल बजार वा क्षेत्र चिनियाँ नागरिकको नियन्त्रणमा गएको हो ।
ठमेल क्षेत्रमा, अमित मार्गका व्यवसायिक गल्लिहरु अहिले चिनियाँ भाषाका होर्डिङबोर्डले भरिएका छन् । ठमेलको त्रिदेवी मार्गदेखिका प्रत्येक घरमा एकदेखि तिनवटासम्म चीनियाँ भाषामा लेखिएका होर्डिङबोर्ड झुण्ड्याइएका भेटिन्छन् । यी क्षेत्रहरुमा झुण्ड्याइएका चीनियाँ भाषाका होर्डिङबोर्डले चीनको शहरको झझल्को दिने गरेको छ । कुनै समय नेपालीहरुको व्यवसायिक केन्द्रको रुपमा रहेको ठमेल क्षेत्रबाट अहिले नेपालीहरु नै विस्थापित हुनु पर्ने वाध्यता रहेको स्थानीयहरु बताउँछन् ।
चिनियाँहरुले घरबेटीलाई नेपाली व्यवसायीहरुले दिन सक्नेभन्दा धेरै महंगो घर भाडाको प्रलोभनमा पारेर सम्झौता गर्ने गरेको ठमेलका होटेल प्लेजर होमका सञ्चालक रामचन्द्र गिरी बताउँछन् । शर्टरभाडा अग्रिम भुक्तानी गर्ने, महंगो भाडादिने प्रलोभन देखाएर सम्झौता गर्ने गरेको होटल व्यवसायी गिरीको भनाई छ ।
चिनियाँहरुले दिने महंगो भाडाका कारण नेपाली व्यवसायीहरुले ठमेलमा ठाउँ पाउनै छोडेको स्थानीय ब्यापारी शम्भु लामाको भनाई छ । नेपालीले ५० हजारसम्म दिईरहेको घरको भाडा चिनियाहरुले दुई लाखसम्म तिरेर कब्जा गर्ने गरेका छन् । चिनियाँहरुले ठमेल क्षेत्रमा विभिन्न प्रयोजनाका लागि घर नै भाडामा लिएर बसेका छन् । होटेल, रेस्टुरा तथा व्यवसायिक प्रयोजनका लागि भनेर घर भाडामा सम्झौता गरेता पनि त्यहाँ अवैध कारोबार गर्ने गरेको आशंका भएको उनी बताउँछन् ।
व्यापारी मधुकर अर्चायका अनुसार एक समय चिनियाँ व्यापारिहरुका कारण ठमेलबाट नेपाली व्यपारी विस्थापित हुने अवस्था थियो । चिनियाँ व्यापारिहरुको आफनै इमपोर्ट, एक्सपोर्ट हुने, आफनै होसलेस, आफनै ग्राहक हुने र सामान पनि फरक–फरक पाइने भएकाले चीनियाँ व्यापारीहरुको एकछत्र राज गर्ने स्थिति छ ।
चिनियाँ नागरिकहरु भिजिट भिसामा नेपाल आउने र यहीँ लुकेर गैरकानुनी रुपमा व्यापार÷व्यवसाय गर्ने गरेको खुलेको छ । केही चिनियाँले वैधानिक व्यपार÷व्यवसाय गरे पनि अधिकाशं चिनियाँले नेपालमा अवैधानिक व्यवसाय सञ्चालन गरिरहेका छन् । ६ महिनाको भिजिट भिसामा आएर उनिहरुले व्यापार गरिरहेको ठमेलका एक व्यापारीले बताए ।
स्थानीयको अनुसार ६ महिनाका लागि केही चीनियाँ नागरिक आउँछन, व्यापार÷व्यवसाय सञ्चालन गर्छन, फेरि ६ महिना पछि सोही व्यवसायमा अर्को चिनियाँ नागरिक देखा पर्छ । यसरी अवैध ढंगले कारोबार गर्ने चीनियाँहरु प्रशस्तै छन ठमेलमा । कोरोनापछि भने ठमेलबाट केही चीनियाँ व्यापारीहरु विस्थापित भएका छन् ।
ठमेलका व्यापारीका अनुसार ठमेलमा चीनियाँहरुले ठगीका काम पनि गरिरहेका छन् । केही चिनियाँले भाडा नदिएरै सर्टर छोडेर भागेका छन् । उनीहरुले आफना सामान निकालेर शर्टर ताल्चा लगाएरै भागेको स्थानीयले जानकारी दिए । कोरोना संक्रमण सुरु भएपछि चिनियाँहरुले २ वर्षको भाडा नतिरी शर्टर छोडेरै भागेको वताईन्छ ।
चिनियाँहरुको यस्तो प्रवृतिका कारण ठमेलमा सुरक्षा चुनौती समेत बढेको छ । चिनियाँहरुले उक्त क्षेत्रमा होटल व्यवसायको बोर्ड राखे पनि भित्र अन्य अवैधानिक काम गर्ने गरेको स्थानीयको भनाई छ । पर्यटक वनेर आउने चिनियाँहरु समेत नेपालमा नियम मिच्न खोज्ने, कानुन नमान्ने तथा आफु खुसी गर्न खोज्ने गरेको पाईएको छ ।
सकेसम्म चिनियाँहरु कम रेटमा होटल बुकिङ गर्न खोज्दछन् । होटल ब्यवसायीहरुको अनुसार चिनियाँहरुले होटलको नियम समेत नमान्ने, जथाभावी गर्ने गर्दछन भने भारतिय पर्यटक होटलको नियम अनुसार बस्ने गरेका छन् । चीनियाँ भन्दा इण्डियन पर्यटक राम्रो भएको उनीहरु बताउँछन् ।