रौतहट, ४ माघ । विगत लामो समय देखि उच्चपदस्थ व्यक्तिको संरक्षणमा संचालनमा रहेका विभिन्न ब्राण्डेड कम्पनीका नक्कली मोबिल बनाउने गरोहको रौतहट प्रहरीले पर्दाफास गरेको छ ।
रौतहटको गौर नगरपालिकाको बरहवा पुल पारी एक घरमा जय शिवशक्ति अटोमोवाइल नामको पसल पहिलो लकडाउन हुनु अगावैबाट संचालनमा आएका थिए । राजदेवी नगरपालिका वडा नम्वर ९ का विरेन्द्र सिंहका २८ बर्षिय छोरा राणा रोशन सिंहले संचालन गरेको थियो ।
संचालनकै क्रममा लकडाउनको मौका छोप्दै विभिन्न ब्राण्डेड मोेविलको बटाहरु भारतबाट चोर बाटो भई नेपालमा झिकाएर नक्कली मोबिल प्याक एवं सिल गरेर रौतहट सहित वारा, सर्लाहीको बजार सम्म पुर्याएर अकुत पैसा कमाउदै आएका थिए । उक्त कार्यमा तत्कालिन समयमा सुरक्षाकर्मीहरु र सशस्त्र प्रहरी सहित केही ठूलाबडा राजनितिक व्यक्तिको पहुँचको आधारमा अबैध कारोवार फस्टाउदै गए ।
एक स्थानबाट अर्को स्थानमा नक्कली कारोवारको पसलहरु खुल्न थाले । केही व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय गौरमा दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा नक्कली मोबिलको कारोवार निधक्क रुपमा भईरहेको प्रमाणित भएपछि ति अटोमोवाइल पसल र उसको गोदाममा छापा मारेको अबैध कारोवारको माथिबाट पर्दा हटाएको छ ।
सिंह संगै सोही स्थानका ४२ को हरेन्द्र सिंहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।अटोमोवाइल पसल संगै रहेको सुधीर साहको घरमा गोदामबाट क्यास्ट्रोल, बजाज, हिरो होण्डा ब्रान्डको मोबिल बनाउने, अवैध रूपमा भित्र्याएर भण्डारण गरेको मोटरसाइकलका पार्टसपुर्जाहरु बरामद गरेको छ ।
प्रहरीले उक्त पसल र गोदाम बाट मोबिल भरिएको ३ हजार बट्टाहरू, खुल्ला मोबिल भरिराखेको २ सय लिटरको टिनको ड्रम–२ थान, र मोबिल राख्ने गरेको टिनको खाली ड्रम ९ थान बरामद गरेको छ ।
पक्राउ परेका रोशन सिंह र हरेन्द्र सिंह माथि कालोबजारी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौर बाट ५ दिनको म्याद थप गराएर आवश्यक अनुसन्धान भइरहेको डिएसपी मल्लले भने । अभियुक्त दुवैजना मिलेर पछिल्लो लामसमय देखि भारतबाट खुला मोबिल अवैधरुपमा भित्र्याएर विभिन्न ब्रान्डको मोबिलको खाली बट्टामा रिप्याक गरि सिल गरेर बिक्री गर्दै आएका थिए । यस प्रकारको नक्कली मोबिलको प्रयोगले मोटरसाइकल तथा अन्य चार पाङ्ग्रे सवारी साधनको इन्जिन माथि चाँडै असर पर्ने गरेको हुँदा प्रहरीको यस प्रकारको कदमको चारै तिर सराहना भईरहेको छ ।