रौतहट, ८ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ ।
तर, देशका विभिन्न क्षेत्रमा भइरहेको भारी वर्षाले अधिवेशन प्रक्रिया प्रभावित भएपछि प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको कार्यतालिकामा लचकता अपनाइएको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार साँझ जारी गरेको प्रेस विज्ञप्ति मार्फत हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जानकारी दिए ।
विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रिया सञ्चालनमा कठिनाइ भइरहेको जानकारी निर्वाचन अधिकृतहरूबाट प्राप्त भएको समितिले जनाए ।
मौसम विभाग लगायत विभिन्न निकायले जारी गरेका मौसम सम्बन्धी सूचनालाई समेत ध्यानमा राख्दै असोज १० गतेका लागि तय गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मौसम अनुकूलता अनुसार सञ्चालन गर्न निर्देशन दिइएको छ ।
निर्वाचन समितिका अनुसार मौसम अनुकूल रहेका क्षेत्रमा असोज १० गते नै क्षेत्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने छ । मौसम प्रतिकूल रहेका क्षेत्रमा भने सम्बन्धित जिल्ला तथा क्षेत्रका पार्टी कार्यसमिति सँग समन्वय गरी असोज १३ गते भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका छ । त्यसअघि पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न गर्ने तयारी भइरहेको जनाए ।
भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित हुन थालेपछि निर्वाचन समितिले मौसमको अवस्थालाई प्राथमिकतामा राख्दै स्थानीय परिस्थिति अनुसार क्षेत्रीय अधिवेशन सम्पन्न गर्न जिल्ला तथा क्षेत्रीय पार्टी संरचनालाई निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन