रौतहट, १३ असार । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर–१ को १५औँ क्षेत्रीय अधिवेशनको उदघाटन सत्र भव्य रूपमा सम्पन्न भएको छ ।
यमुनामाई गाउँपालिका–स्थित शुकदेव चोकमा मंगलबार आयोजित अधिवेशनको उदघाटन मधेश प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका स्वास्थ्य मन्त्री नागेन्द्र साहको विशेष उपस्थिति रहेको थियो ।
उदघाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मुलुक चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको अवस्थामा नेपाली कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो बनाउनुको विकल्प नरहेको बताए । उनले पार्टीको नेतृत्वलाई बलियो बनाउन युवा नेता गगन थापाको काँधलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री यादवले कांग्रेस कमजोर हुनुमा बाह्य कारणभन्दा पार्टी भित्रकै कमजोरी, आपसी मनमुटाव र सहअस्तित्वको भावनामा आएको कमी प्रमुख कारण रहेको स्वीकार गरे । विगतमा भएका कमजोरी र गल्तीलाई सच्याउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
‘पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाएर स्थानीय तहदेखि हरेक क्षेत्रमा कांग्रेसको झण्डा फहराउन नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ मुख्यमन्त्री यादवले भने । उनले पार्टी भित्रका असमझदारीलाई अन्त्य गर्दै संगठन सुदृढीकरणमा सबै तहका नेता तथा कार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा मधेश प्रदेशका स्वास्थ्य मन्त्री नागेन्द्र साहले मुलुकमा परिवर्तनको जनचाहना अनुसार पार्टीको केन्द्र देखि स्थानीय तहसम्म युवालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियालाई अघि बढाइरहेको बताए ।
उनले आपसी मतभेद र गुटगत आग्रहलाई पन्छाएर पार्टीको हितमा केन्द्रित हुन नेता–कार्यकर्तालाई आग्रह गर्दै क्षेत्रीय अधिवेशनबाट सक्षम, कुशल र परिणाममुखी नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसको समानुपातिक तर्फबाट सांसद बनेकी डा. शाहजहाँ खातुनले लामो समय सम्म एउटै व्यक्तिले पद ओगटेर बस्दा संगठन कमजोर हुने अवस्था सिर्जना भएको बताइन् । उनले नयाँ सोच, ऊर्जा र क्षमता सहितको नेतृत्व चयन गर्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका तर्फबाट पत्रकार प्रभातकुमार झाले नेपाली कांग्रेसलाई लोकतन्त्रको जननीका रूपमा लिइए पनि पार्टी भित्रकै अन्तरघात र कमजोरीका कारण संगठन कमजोर बन्दै गएको बताए ।
उनले परिवारवाद, नातावाद र कृपावादबाट माथि उठेर योग्य तथा सक्षम व्यक्तिलाई जिम्मेवारी दिने वातावरण बनाउनुपर्नेमा जोड दिए । संगठनलाई बलियो बनाउन मधेश प्रदेश सभापति तथा मुख्यमन्त्री यादवको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पार्टीको समग्र हितलाई केन्द्रमा राखेर निर्णय गर्न सुझाव दिए ।
क्षेत्रीय सभापति श्रीराम यादवको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा माधवनारायण नगरपालिकाका मेयर बैद्यनाथ प्रसाद यादव, अरुण साह, गौर नगर अध्यक्ष मोहन यादव, चिरञ्जीवी सिंह, सन्तलाल साह, गजेन्द्र यादव, नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ता, मुख्यमन्त्रीको सचिवालय प्रमुख सन्तुप्रसाद यादव, युवा नेता प्रकाश सिंह, दिनेशप्रसाद केसरी लगायत दर्जनौं नेता तथा शुभेच्छुकहरुले आ–आफ्नो धारणा राखेका थिए ।
अधिवेशनले क्षेत्रीय समिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधि छनोटका लागि मधेश प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई म्यान्डेट दिएको प्रचार–प्रसार विभागका सदस्य नितेशकुमार गुप्ताले जानकारी दिए ।
क्षेत्रीय अधिवेशनमा कांग्रेसको संगठन सुदृढीकरण, नेतृत्व हस्तान्तरण, युवा सहभागिता तथा पार्टीभित्रको आन्तरिक एकताका विषय प्रमुख रूपमा मुद्दा उठेका थिए ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन