रौतहट, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंको रौनकताका बीच नेपाली सेनाले रौतहटको चन्द्रपुर स्थित शान्ति टोलमा परम्परागत पिङ निर्माण गरेको छ ।
नेपाली मौलिक परम्परा तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाको नारायणदल गणले चन्द्रपुर नगरपालिका–४ स्थित शान्ति टोलको एन्फा मैदानमा पिङ निर्माण गरेको हो ।
आधुनिकताको प्रभावसँगै कतिपय स्थानमा परम्परागत पिङ खेल्ने चलन घट्दै गइरहेका बेला नेपाली सेनाले पिङ निर्माण गरेपछि स्थानीयवासीमा दशैंको उमङ्ग थपिएको छ । पिङले स्थानीय बासिन्दालाई मनोरञ्जन प्रदान गर्नुका साथै आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास गरिएको छ ।
नेपाली समाजमा दशैं र पिङको सम्बन्ध पुस्तौं देखि रहँदै आएको छ । दशैं आउना साथ गाउँघरमा बाँस, डोरी र काठको प्रयोग गरी पिङ बनाउने तथा साथीभाइ र परिवारसँग मिलेर खेल्ने परम्परा छ । पिङ केवल मनोरञ्जनको साधन नभई नेपाली मौलिक पहिचान, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीक रहेको नारायण दल गणका कर्णेल विश्वास विष्टले बताए ।
परम्परा जोगाउँदै दशैंको उमङ्ग बढाउने प्रयास
दशैंमा पिङ खेल्ने परम्परा नेपाली लोक संस्कृतिको अभिन्न अङ्गका रूपमा रहँदै आएको छ । पिङमा बालबालिका, युवा तथा ज्येष्ठ नागरिक समेत सहभागी हुँदा गाउँघरमा सामूहिक रुपमा उत्सवको वातावरण सिर्जना गरेको छ । यसले छिमेकी, साथीभाइ र आफन्त बीच आत्मीयता बढाउन समेत सहयोग पुयाउने उलने स्पष्ट पारे ।
नेपाली समाजमा दशैंका बेला कम्तीमा एकपटक भए पनि पिङ खेलेर खुट्टाले जमिन छाड्नुपर्ने जनविश्वास प्रचलित छ । यसले दशैंसँग जोडिएको सांस्कृतिक आस्था र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परालाई झल्काउँछ । बाँसको लिङ्गे पिङ होस् वा रोटे पिङ, दशैंमा पिङ निर्माण भएपछि गाउँघरमा चाडपर्वको रौनक थपिने गरेको छ । पिङ खेल्ने क्रममा बाल्यकालका सम्झना, रमाइला गीत र साथी भाइबीचको हाँसोमजाकले चाडपर्वलाई थप विशेष बनाउने गर्छ ।
चन्द्रपुर–४ को एन्फा मैदानमा नेपाली सेनाले निर्माण गरेको परम्परागत पिङले यस वर्षको बडादशैंमा स्थानीयवासीलाई एकै ठाउँमा भेला भएर रमाइलो गर्ने अवसर प्रदान गर्दै नेपाली मौलिक संस्कृति संरक्षणमा सकारात्मक योगदान पुर्याउनमा नेपाली सेनाले आफनो भुमिका निर्वाह गर्दै आएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन