पहिलो एकदिवसिय खेलमा दक्षिण अफ्रिका संग भारत ३१ रनले पराजित

803 Shares

रौतहट, ६ माघ । दक्षिण अफ्रिकाले बुधबार भएको पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३१ रनले हराए संग शृंखलामा १–० को अग्रता लिएको छ ।
२९७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ८ विकेट गुमाएर २६५ रन मात्र जोड्न सफल भयो । भारतका लागि शिखर धवनले सर्वाधिक ७९ रन बनाए । ८४ बल सामना गरेका उनले १० चौका प्रहार गरेका थिए । त्यस्तै ६३ बल सामना गरेका विराट कोहलीले ३ चौकाको सहयोगमा ५१ रन बनाए । कोहली र धवनले ९२ रनको साझेदारी गरेका थिए ।
शार्दुल ठाकुरले नटआउट ५१ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तानको जिम्मेवारी सम्हालेका केएल राहुलले मात्र १२ रन बनाए । दक्षिण अफ्रिकाका लागि लुंगी एन्गिडी, तबरेज सशाम्सी र एन्डिले फेसुक्वायोले २–२ विकेट लिए । त्यस्तै केशव महाराज र एडेन मारक्रमले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बावुमाले ११० रन बनाए । त्यस्तै रासी वान डर डुसेनले नटआउट रहँदै १२९ रन बनाए । ९६ बल सामना गरेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । भारतका लागि जसप्रीत बुमराहले २ र रविचन्द्रन अश्विनले १ विकेट लिए । दोस्रो एकदिवसीय खेल शुक्रबार र तेस्रो आइतबार हुँदैछ ।

सम्बन्धित समाचार