राजकुमार यादव
बारा, ९ कार्तिक । बाराको आदर्श कोतवाल गाउँपालिका–६, हरनहियामा ‘लाइफ केयर एन्ड पेन हस्पिटल’ सञ्चालनमा आएको छ ।
अस्पताल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले आफ्नै घरआँगन एवं क्षेत्रमा समुचित रुपमा स्वास्थ्य जाँच, उपचार तथा परामर्श सेवा प्राप्त गर्ने अवसर पाएको हो ।
सोमबार आयोजित उदघाटन समारोहमा आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर साहले अस्पतालको उदघाटन गरे । कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री डा. बंशीधर मिश्र र रामकृपाल यादव विशिष्ट अतिथिका रूपमा उपस्थित रहेको थियो ।
अस्पतालका सञ्चालक डा. सञ्जय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मीरा देवी सहित वडा नम्बर १ देखि ८ सम्मका वडाध्यक्षहरूको उपस्थिति रहेको अस्पताल प्रशासनले जनाए ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको अस्पतालले विभिन्न रोगको जाँच, उपचार तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
अस्पताल सञ्चालनमा आएपछि आदर्श कोतवाल गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई सामान्य स्वास्थ्य समस्या लिएर टाढाका स्वास्थ्य संस्थासम्म धाउनु पर्ने बाध्यता कम हुने अपेक्षा आयोजकले राखेको छ ।
स्थानीय स्तरमै स्वास्थ्य संस्था उपलब्ध हुँदा बिरामीको समय र खर्च बचत हुनुका साथै स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान तथा उपचारमा सहजता आउने विश्वास लिएको छ । विशेषगरी ग्रामीण क्षेत्रका नागरिकका लागि नजिकै स्वास्थ्य सेवा उपलब्ध हुनु महत्वपूर्ण मानिएको छ ।
अस्पतालका सञ्चालक डा. सञ्जय यादवले स्थानीय नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित अस्पताल सञ्चालनमा ल्याएका हुन् । डा. यादव बंगलादेशबाट एमबीबीएस तथा सीएमसीबाट एमडीजीपी अध्ययन गरेका व्यक्ति हुन् ।
नयाँ अस्पतालले स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दक्ष स्वास्थ्यकर्मी, आवश्यक उपकरण, औषधिको उपलब्धता, पारदर्शी सेवा शुल्क तथा आवश्यकता अनुसार अन्य अस्पतालमा रेफर गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने लक्ष्य रहेको छ ।
लाइफ केयर एन्ड पेन हस्पिटलको सञ्चालनले आदर्श कोतवाल गाउँपालिका र आसपासका क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा योगदान पुर्याउने अपेक्षा आयोजकले लिएको छ । अस्पतालले उपलब्ध गराउने सेवा, उपचारको गुणस्तर र बिरामी प्रतिको व्यवहारले स्थानीय नागरिकको विश्वास स्थापित हुनेमा आफूहरु आशावादी रहेको आयोजकले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन