नयाँ दिल्ली, ६ माघ । भारतमा कोभिड–१९ नियन्त्रण भन्दा बाहिर गएको छ । पछिल्लो २४ घण्टामा कोभिड १९ बाट संक्रमण हुनेहरुको संख्या ३ लाख नाघेको हो ।
विगत ८ महिना पछि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख नाघेका छन् । पछिल्लो २४ घण्टामा भारतभरीमा ३ लाख १७ हजार ५३२ जना मानिसमा नयाँ कोरोना संक्रमित भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । विहिवार मन्त्रालयले जारी गरेको परिपत्रमा हाल कुल ३ करोड ८२ लाख १८ हजार ७७३ जनामा कोरोना भाइरसको भईसकेको छ । जस मध्ये ३ करोड ५८ लाख ७ हजार २९ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ४९१ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म कोभिड संक्रमणबाट ज्यान गुमाउनको संख्या ४ लाख ८७ हजार ६९३ पुगेको छ । पछिल्लो समय भारतमा सक्रिय संक्रमितको संख्या समेत निरन्तर बढिरहेको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर १९ लाख २४ हजार ५१ पुगेको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर बढेर १६.४१ पुगेको छ भने साप्ताहिक संक्रमण दर १६.०६ रहेको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या समेत बढ्दै गएको छ । बुधबारको तुलनामा बिहीबार ओमिक्रोनका संक्रमित ३.६३ प्रतिशतले बढेका छन् । ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ९ हजार २८७ पुगेको छ ।