सर्लाही, १३ कार्तिक । सर्लाहीको हरिवन बजार स्थित सुनचाँदी पसलमा चोरी गरी फरार भएका दुई भारतीय नागरिकलाई प्रहरीले दशी प्रमाण सहित पक्राउ गर्न सफल भएका छन् ।
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा सुनका विभिन्न गरगहना, चोरीमा प्रयोग भएको औजार र मोबाइल समेत बरामद गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका विहिवार विहान ४ बजेको समयमा हरिवन नगरपालिका–११ स्थित हरिवन बजारमा रहेको सिद्धि सिद्धि ज्वेलर्समा चोरी भएको थियो । हरिवन नगरपालिका–७ निवासी देव नारायण साहका २३ वर्षीय छोरा मुन्नु साहले सञ्चालन गरेको उक्त सुनचाँदी पसलमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल अनुसन्धान तथा खोजतलास सुरु गरे ।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा हरिवन नगरपालिका–११ स्थित कबिलान कार्कीको घरमा डेरा गरी बस्ने दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका थिए ।
प्रहरीले भारतको पूर्वी चम्पारण जिल्लाको आदापुर थाना, ओरैया पञ्चायत वडा नं. ११ निवासी खालिल अंसारीका २५ वर्षीय छोरा जुनैद अंसारी र पूर्वी चम्पारण घोडासहन थाना, आठमोहनही पञ्चायत वडा नं. १२ निवासी नईम अंसारीका २८ वर्षीय छोरा रियाज अंसारीलाई नियन्त्रणमा लिए ।
प्रहरीले उनीहरूको साथबाट चोरी भएका सुनका विभिन्न गरगहनासमेत बरामद गरेको सर्लाही प्रहरीका निमित्त प्रवक्ता एवं इन्सपेक्टर किशोर केसीले बताए ।
के–के सामान भए बरामद ?
प्रहरीका अनुसार बरामद सामानमा सुनको पेण्डल ३५ पिस (७६.८ लाल), सुनको तिलहरी १ पिस (६.२ लाल), सुनको औँठी ४ पिस (६ लाल), सुनको नौगेडी १ पिस (२.२ लाल), सुनको मोती क्लिप १ पिस (२.५ लाल), सुनको बेबी माला ५ पिस (६.४ लाल), सुनको चन्द्रमा ८ पिस (१३.६ लाल), सुनको कानको टप ३२ पिस (१० लाल) र सुनको खुकुरी १ पिस (१ लाल) रहेको छ ।
त्यसैगरी सुनजस्तो देखिने नक्कली हार १ थान, फलाम काट्ने कटर १ थान र एन्ड्रोइड मोबाइल १ थानसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।
पक्राउ परेका दुवै जनालाई चोरी कसुर मुद्दामा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इन्सपेक्टर केसीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन