बारा, १५ कार्तिक । पत्रकार वीरेन्द्रकुमार साहको अपहरण तथा हत्या प्रकरणमा लामो समय देखि फरार रहदै आएका लालबहादुर चौधरी धामी अन्ततः अदालतमा उपस्थित भएका छन् ।
बिहीबार बारा जिल्ला अदालतमा हाजिर भएका उनलाई अदालतले पुर्पक्षका लागि वीरगञ्ज कारागार पठाउने आदेश दिएका थिए ।
२०६४ सालमा पत्रकार साहको निर्मम हत्या भएको प्रकरणमा लामो समयदेखि फरार रहेका चौधरी अदालतमा उपस्थित भएसँगै झण्डै १९ वर्ष पुरानो घटनाले पुनः चर्चा पाए । चौधरीमाथि साहको अपहरण तथा हत्या घटनाका मुख्य योजनाकार मध्ये एक रहेको आरोप लागेको छ ।
एभिन्युज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आबद्ध रहेका पत्रकार साहलाई २०६४ असोज १८ गते बाराको तत्कालीन उम्जन गाविस अन्तर्गत पिपरा बजारबाट अपहरण गरिएको थियो । उनीसँगै अपहरणमा परेका रामदेव दास पछि मुक्त भएका थिए ।
दासले प्रहरीलाई दिएको बयानका आधारमा अनुसन्धान अघि बढाइएको थियो । अपहरण भएको करिब ३५ दिनपछि २०६४ कात्तिक २२ गते साहको शव तत्कालीन डुमरवाना गाविस–७ स्थित टाँगियाबस्ती नजिकको जंगलमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा उनलाई गोली हानी हत्या गरिएको खुलेको थियो ।
हत्याको आरोप लागेका मध्ये अधिकांशले सजाय भुक्तान गरे
प्रहरी अनुसन्धानका क्रममा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ता लालबहादुर चौधरी, कुन्दन भनिने नरेन्द्र फौजदार, हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी, मनेजर गिरी र रामएकवाल सहनीको नाम अभियुक्तका रूपमा जोडिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा मनेजर गिरी र रामएकवाल सहनी क्रमशः २०६५ असोज १९ र पुस २१ गते पक्राउ परेका थिए । जिल्ला अदालतले २०६८ जेठ १६ गते उनीहरूलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । पछि बाँकी कैद मिनाहा भएपछि दुवै कारागारमुक्त भएका थिए ।
यस्तै, लामो समय फरार रहेका नरेन्द्र फौजदार २०७६ फागुन २५ गते बारागढी गाउँपालिका–६ गडहल स्थित घरबाट पक्राउ परेका थिए । हरेराम प्रसाद कुर्मी २०७७ भदौ २५ गते कोल्हबी नगरपालिका–४ सपहीबाट पक्राउ परेका थिए ।
बारा जिल्ला अदालतले २०७८ पुस २६ गते फौजदारलाई पाँच वर्ष र कुर्मीलाई दुई वर्ष कैद सजाय सुनाएको थियो । उनीहरू पनि सजाय भुक्तान गरेर कारागारमुक्त भइसकेका छन् ।
पत्रकार महासंघले उठाउँदै आएको थियो पक्राउको माग
अन्य अभियुक्त पक्राउ पर्दा पनि चौधरी भने लामो समय सम्म फरार रहँदै आएका थिए । २०७९ वैशाखमा सार्वजनिक गरिएको विवरणमा समेत उनी फरार रहेको उल्लेख थियो ।
पत्रकार साहको हत्यापछि नेपाल पत्रकार महासंघले गठन गरेको छानबिन टोलीले २०६४ असोज २३ गते सार्वजनिक गरेको निष्कर्षमा तत्कालीन माओवादी कार्यकर्ताको संलग्नता औँल्याएको थियो । घटनामा संलग्न आरोपितलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघ तथा पत्रकारिता क्षेत्रबाट निरन्तर माग हुँदै आएको थियो ।
झण्डै दुई दशकदेखि चर्चामा रहेको पत्रकार साह हत्या प्रकरणका फरार आरोपित चौधरी अदालतमा उपस्थित भएपछि अब मुद्दाको न्यायिक प्रक्रिया थप अघि बढ्ने भएको छ । पत्रकारको अपहरण र हत्या जस्तो गम्भीर अपराधमा संलग्न रहेको आरोप लागेका व्यक्तिमाथिको न्यायिक प्रक्रिया अघि बढ्ने विश्वास संचारक्षेत्रको रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन