मदिराले भरिएको भारतीय नम्वरको बोलेरो जिप सशस्त्र प्रहरीको नियन्त्रणमा

रौतहट, ७ माघ । सिमावर्ती क्षेत्रमा मदिराको अबैध कारोवार गर्नेलाई विहिवार साँझ ठूलो झट्का लागेको छ ।
विहिवार साँझ विआर शुन्य १ टिए ४६२९ नम्वरको भारतीय बोलेरो जिपमा नेपाली मदिरा राखेर सिमापारी भारत तर्फ लैजादै गर्दा रौतहटको परोहा नगरपालिका वडा नम्वर ७ नरकटियाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गण र सशस्त्र प्रहरीको प्रदेश कार्यालयको संयुक्त स्कावर्ड टोलीको गस्ती टोलीलाई देखेर जिप चालक भाग्न सफल भएपनि अबैध मदिरा सहित जिपलाई नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बल ११ नम्वर गणले जनाएको छ ।
बेवारिसे अवस्थामा नियन्त्रणमा लिइएको करिव १३ लाख ३६ हजार ७ सय मूल्य बराबरको मदिरा सहितको जिपलाई आवश्यक कारवाहीको लागि शुक्रवार गौर भन्सार कार्यालयमा बुझाएको छ ।