रौतहट, ३ मंसिर । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, जोखिम न्यूनीकरण तथा पीडित श्रमिकको उद्धारलाई प्रभावकारी बनाउन रौतहटको गौरमा प्रहरी अधिकारीहरूलाई लक्षित गरी बृहत् अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सुरक्षित वैदेशिक रोजगार (सामी) परियोजनाको आयोजनामा बिहीबार गौर नगरपालिकाको सभाकक्षमा जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी चौकीका इन्चार्जहरूका लागि सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अपनाउनु पर्ने सावधानी, वैदेशिक रोजगारका नाममा हुने ठगीका स्वरूप, पीडितको उद्धार, कानुनी उपचार तथा प्रहरीको जिम्मेवारी लगायतका विषयमा विस्तृत जानकारी दिइयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका मुद्दा शाखा प्रमुख शम्भु राउतले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटका मुद्दा शाखा प्रमुख विश्वनाथ यादवले वैदेशिक रोजगारी सम्बन्धी ठगी न्यूनीकरण तथा पीडितलाई न्याय दिलाउन नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराए ।
यसैगरी श्रम आप्रवासन सम्बन्धी विषयमा रामप्रवेश मण्डल तथा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत केन्द्रले प्रदान गर्ने सेवा र सुविधाबारे जिल्ला संयोजक विनय साहले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुतिका क्रममा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको अवस्था, ठगीमा परेका व्यक्तिको उद्धार प्रक्रिया, ठगीका विभिन्न प्रकृति, कानुनी कारबाही तथा पीडितलाई उपलब्ध गराउन सकिने सहयोगका विषयमा सहभागी प्रहरी अधिकारीहरूलाई जानकारी गराइएको थियो ।
अभिमुखि कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले नेपाल सरकार आफ्ना नागरिकलाई सुरक्षित वैदेशिक रोजगारीको अवसर उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । उनले वैदेशिक रोजगारीमा पठाउने मुलुकसँगको श्रम विभाग तथा सरकारस्तरको द्विपक्षीय सम्झौता पछि मात्रै नेपाली नागरिकलाई रोजगारीका लागि पठाउने व्यवस्था सरकारले मिलाएको उल्लेख गरे ।
उनले कतिपय आर्थिक रूपमा सम्पन्न व्यक्तिहरू समेत जानाजानी गैरकानुनी बाटो प्रयोग गरेर विदेश जान खोज्दा ठगीको सिकार हुने गरेको बताए । सुरक्षित वैदेशिक रोजगारीका लागि स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै सामी परियोजनाले पनि जनचेतना, सूचना तथा सहजीकरणका गतिविधिलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले नागरिकलाई वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगाउनु राज्यको प्रमुख दायित्व भएको बताए । स्थानीय तहले पनि वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई सम्भावित ठगीबाट बचाउन विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।
वैदेशिक रोजगारीका क्रममा हुने ठगी, मानव बेचबिखन तथा श्रमिक शोषणका घटना न्यूनीकरण गर्न प्रहरी, प्रशासन, स्थानीय तह र सामी परियोजना बीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले भने ।
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना र कानुनी प्रक्रियाबारे प्रहरी अधिकारीहरूको क्षमता अभिवृद्धि हुँदा ठगीमा परेका पीडितको समयमै उद्धार, उजुरीको प्रभावकारी सुनुवाइ तथा दोषीमाथि कानुनी कारबाही अघि बढाउनमा सहयोग पुग्ने उनले आवश्यक्ता औल्याए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन