नयाँ दिल्ली, ७ मंसिर । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ ।
दुई दिने भ्रमणमा आईतवार अपराह्न दिल्ली पुगेका प्रधानमन्त्री शाह बसेको होटलमा भएको भेटवार्ता करिब २५ मिनेटसम्म चलेको थियो । भेटमा नेपाल र भारतका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको छ । विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्षबीच छलफल भए ।
त्यसैगरी, दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको सचिवालयले जनाए ।
भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री शाहको भ्रमणले नेपाल र भारत बीचको चिरस्थायी तथा बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउने अवसर प्रदान गर्ने जनाए ।
दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा प्रधानमन्त्री शाहलाई भारतका आपूर्ति तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए । प्रधानमन्त्री शाहसँग अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा रहेका छन् ।
आज मोदीसँग औपचारिक वार्ता, पुनर्निर्माण सहयोगको अपेक्षा
प्रधानमन्त्री शाहको भारत भ्रमणको मुख्य राजनीतिक भेटवार्ता सोमबार हुने कार्यक्रम तय गरिएका हुन् । उनले राष्ट्रपति भवनमा गार्ड अफ अनर ग्रहण गर्नुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।
हैदराबाद हाउसमा आज बिहान ११ बजेदेखि नेपाल र भारतका प्रधानमन्त्री बीच औपचारिक भेटवार्ता हुने कार्यक्रम छ । उक्त वार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर गरिने जनाइएको छ । यसै क्रममा अयोध्यादेखि जनकपुरसम्म सञ्चालन गर्ने घोषणा गरिएको रेल सेवाको उदघाटन गरिने छ ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति मुर्मुसँग पनि राष्ट्रपति भवनमा भेटवार्ता गर्नेछन् ।
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भारतसँग सहयोगको अपेक्षा
गत अगस्टमा नेपाल–चीन सीमामा अवस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालले जलवायु संकटसँग जुध्न तथा विपद् पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै आएको छ ।
प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग गर्ने औपचारिक भेटवार्तामा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भारतबाट सहयोग घोषणा हुने अपेक्षा राखेको छ ।
भ्रमणका क्रममा नेपालले बाढीपछिको पुनर्निर्माण, सडक पूर्वाधार तथा ऊर्जा परियोजनालगायतका क्षेत्रमा २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण तथा अनुदान सहयोग मागेको खबर सार्वजनिक भएका छन् ।
भ्रमणअघि नेपालका परराष्ट्र सचिवले दुई देशबीचको साझेदारीलाई थप गति दिनुका साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस लाभ हासिल हुने अपेक्षा व्यक्त गरेका थिए ।
भारतले पनि प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सम्पर्क सञ्जाल, व्यापार तथा वाणिज्य, जलस्रोत र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर छलफल गरिने जनाए ।
यसका अतिरिक्त नेपाल र भारतबीच हवाई सम्पर्क सञ्जाल विस्तार तथा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई रुट उपलब्ध गराउने विषयमा समेत सहमति जुटाउने प्रयास भइरहेको छ ।
प्रधानमन्त्री शाहको यस राजकीय भ्रमणलाई दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, पूर्वाधार विकास तथा विपद्पछिको पुनर्निर्माणका क्षेत्रमा भारतले नेपाललाई सक्दो सहयोग गर्ने छ भने राजनीतिक विश्लेशकहरु बताउँछन् ।