नयाँ दिल्ली, ७ मंसिर । कालो चस्मा, कालो कोट, दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर राजकीय भ्रमणका लागि भारत पुगेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्वपूर्ण द्विपक्षीय वार्ता गर्दैछन् ।
नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा हुने उक्त भेटवार्तालाई दुवै देशका अधिकारीहरूले विशेष चासोका साथ हेरेका छन् ।
गत मार्च महिनामा सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हुन् । ३६ वर्षीय प्रधानमन्त्री शाह आइतबार अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगे ।
आज हुने भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आर्थिक सहकार्य, सम्पर्क सञ्जाल विस्तार, ऊर्जा तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने कार्यक्रम छ । वार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न संयुक्त समझदारीपत्रमा हस्ताक्षर गरिने छ ।
दुवै प्रधानमन्त्रीले पत्रकारहरूको उपस्थितिमा संयुक्त सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । उक्त सम्बोधनलाई दुई देशबीचको आगामी सम्बन्ध र सहकार्यका विषयमा स्पष्ट सन्देश आउने अपेक्षास गरिएको छ ।
भारतीय पक्षले पनि प्रधानमन्त्री शाहसँगको भेटवार्तालाई महत्वका साथ लिएको सङ्केत दिएको छ । आइतबार साँझ प्रधानमन्त्री शाहसँग भेट गरेका भारतीय विदेशमन्त्री एस. जयशङ्करले सामाजिक सञ्जाल एक्स मार्फत नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्व दिने बताए ।
जयशङ्करले लेखेका छन्, ’नेपालका प्रधानमन्त्री बालेन शाहसँग भेट गर्न पाउनु मेरो सौभाग्य हो । भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्व दिन्छ । भोलि प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उहाँको भेटघाटका कार्यक्रमलाई लिएर उत्सुक छु ।’
४५ मिनेट एक्लाएक्लै वार्ता, त्यसपछि प्रतिनिधिमण्डलस्तरीय छलफलभ्रमण कार्यतालिका अनुसार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदी हैदरावाद हाउसमा औपचारिक तस्बिर खिचाएपछि करिब ४५ मिनेट एक्लाएक्लै छलफलमा सहभागी हुनेछन् ।
त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ । छलफलपछि विभिन्न समझदारीपत्रमा हस्ताक्षर गरिने छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुने कार्यक्रम छ ।