जनकपुरधाम, १२ माघ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधवार भईरहेको राष्ट्रिय सभाको निर्वाचनमा ६ जना अनुपस्थित भएको छ ।
जनकपुरधाम स्थित महेन्द्रनारायण स्मृति प्रतिष्ठानको भवनमा भएको निर्वाचनमा मधेश प्रदेशमा ३ सय ६६ जनाले मतदान गरेको हो ।
निर्वाचन अधिकृत ब्रजेस प्याकुरेलको अनुसार कुल ३ सय ७२ मतदाता मध्ये ३ सय ६६ जनाले मतदान गरेको छ भने ६ जना मतदाता अनुपस्थित भए । दुई जना प्रदेश सांसद, दुई जना मेयर र २ जना उप मेयरले मतदान नगरेको उनले बताए ।
प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल महिला समूहमा र जनता समाजवादी पार्टी (जसपा) बाट मोहम्द खलिद सिद्दिकीले अन्य समूहमा उम्मेदबारी दिएका छन् ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महिला समूहमा रुपा कुमारी यादव र नेकपा एमालेबाट अन्य समूहमा उस्मान अन्सारीले उम्मेदबारी दिएका छन् । लोसपा र एमालेले चुनावी गठबन्धन गरेका छन् । निर्वाचन सम्पन्न भएपछि ३ः३० बजेबाट मतगणनाको प्रकृया सुरु गरिएको निर्वाचन अधिकृत प्याकुरेलले बताए ।