जनमतद्धारा गरिएको अराजक प्रदर्शनको छानविन गरी दोषिलाई कारवाही गर्न मधेश प्रदेश सरकार प्रवक्ता साहद्धारा सम्बन्धित निकायलाई निर्देशन

   १३ माघ २०७८, बिहीबार १७:५२  

रौतहट, १३ माघ । मधेस सरकारले राष्ट्रियसभा निर्वाचनको क्रममा बुधबार जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको अराजक क्रियाकलाप घटनाको छानविन गर्न निर्देशन दिएको छ ।
मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बुधवार वेलुकी विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपुर्ति एवम् दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका जनप्रतिनिधिको ७ वटा गाडीमा तोडफोड गर्दै अराजक बनेका जनमत पार्टीका कार्यकर्ताहरुको पहिचान गरेर कानुन अनुसार कारवाही गर्ने उनले स्पष्ट पारे । अराजताको पराकाष्ठा नाघदै जनमतका कार्यकर्ताले गरेको आक्रमणबाट प्रदेश सांसद् अशोक यादव, जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश कुमार साह, हरिवनका मेयर गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल घाइते भएका थिए ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्ता माथि कारवाही गर्न समेत प्रदेश सरकारले निर्देशन दिएको छ । मतदान गर्न आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले सांघातिक आक्रमण गरेको घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषी उपर कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशित गरिएको विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचन बिथोल्न खोजेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका जनमत पार्टीका सात कार्यकर्ता माथि प्रहरीले कानुनी कारवाही अघि बढाउने भएको छ । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले किसान आन्दोलनको आडमा बाँसको भाटा सहित मतदान स्थलमा प्रवेश गर्न खोज्दा प्रहरी सँग हिजो झडप भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै