नेपालको प्रगती उन्नती समृद्धि र विकासको पथमा भारतीय सहयोग जारी रहने राजदूत क्वात्रा

   १४ माघ २०७८, शुक्रबार ०९:३२  

काठमाडौं, १४ माघ । नेपालको प्रगती, उन्नती, समृद्धि र विकासको पथमा सधै भारतीय सहकार्य जारी रहने भारतीय राजदूत विनयमोहन क्वात्राले बताएको छ ।
राजदूत क्वात्राले भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै द्विपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताएको हो । ‘सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्वपूर्ण गति प्रदान गरेको छ’, उनले भने ।
राजदूत क्वात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच ग्लास्गोमा सम्पन्न कोप–२६ सम्मेलनका क्रममा भएको साइडलाइन वार्ता, भारतीय विदेशमन्त्री डा. एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का बीच न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा भएको साइडलाइन बैठकले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको प्रसंग पनि सो सन्देशमा उल्लेख गरेका छन् ।
राजदूत क्वात्राले जयनगर–कुर्था–विजुलापुरा र जोगबनी–विराटनगरलाई जोड्ने अन्तरदेशीय रेलमार्ग, भूकम्पले भत्काएको नुवाकोट र गोरखामा भारत सरकारको पुनर निर्माणमा सहयोग एवं नेपालको अनुरोधमा युरिया र डिएपी मल आपूर्तिलाई प्राथमिकता दिएको प्रसंग पनि राजदूत क्वात्राले सन्देशमा उल्लेख गरेका छन् ।
कोभिड–१९ को सङ्क्रमणका क्रममा खोप, आइसीयू शैया, मेडिकल अक्सिजन प्लान्टलगायतको सहयोग भारतले उपलब्ध गराएको बताउँदै राजदूत क्वात्राले कोभिड सम्बन्धी कडा प्रतिबन्धका बाबजुद पनि दुवै देशको व्यापार निर्वाध ढंगले अगाडि बढेको जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै