कपिलबस्तु, १४ माघ । राष्ट्रिय सभाको निर्वाचन लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन दलको टिमका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।
उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका थिए । बुधबार विहान ९ बजे दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेश सभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेको थियो ।
यो पनि, राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा तीन पदका लागि ६ जना उम्मेद्वार छन् । कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनबाट महिला कोटामा कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार उम्मेद्वार छन् । एमालेबाट भने महिलामा लिला थनेत, खुलामा पुण्य पौडेल र दलितमा अर्जुनकुमार सुनामले उम्मेद्वारी दिएका थिए ।
गत २० फागुनबाट गण्डकीमा दिनानाथ शर्मा, खिमबहादुर विक र शान्तिकुमारी अधिकारीको पद रिक्त हुन लागेको हो । राष्ट्रिय सभाको १९ सिट मध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो । स्वतन्त्र सांसद राजीव गुरुङउर्फ दीपक मनाङेले सबैभन्दा अन्तिममा आएर मतदान गरेका हुन् ।
गण्डकीमा सत्ता गठबन्धन निकै बलियो छ । गठबन्धनको तीन हजार ३०० मतभार छ भने एक्लै लडेको एमालेको दुई हजार ५५६ मतभार छ । राप्रपाबाटै निर्वाचित भएका बागलुङका उपमेयर सुरेन्द्र खड्का भने मतदानमा सहभागी भएनन् । २२९ मतदातामध्ये दुई जनाले मतदान नगरेका हुन्