रौतहट, १५ माघ । माघ महिनाको कठ्याग्रिदो चिसोमा पनि तराई केन्द्रीत लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) को नेताहरुको पार्टी भित्रै सम्बन्ध चिसिदै गएको छ ।
जनता समाजवादी पार्टी भित्र आन्तरिक द्धन्दको कारण आपसी मतभेद चरम सिमामा रहेको कारण पार्टी विभाजन हुन सक्ने जसको प्रत्यक्ष फायदा लोसपालाई हुने प्रबल सम्भावना रहेको देखिएको हो । लोसपाका नेताहरु अत्यन्तै नजिकबाट जसपा भित्रको आन्तरिक विवादबाट पार्टी फुटेको हेर्न चाहछन, लोसपाको नेताहरु बकुल्लाले माछा झै ढुकेर बसेका छन् ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका थुप्रै नेताहरू जसपा अध्यक्ष उपेन्द्र यादव पक्षमा गएका थिए । तीमध्ये अधिकांश नेताहरू हाल असन्तुष्ट छन् । सो असन्तुष्टिको फाइदा लोसपाका अध्यक्ष ठाकुरले लिने तयारीमा देखिन्छन् । लोसपाका एकजना कार्यकारिणी सदस्यले भने, “हामीलाई छाडेर उपेन्द्र यादवलाई साथ दिनुभएका कतिपय नेताहरू अहिले पछुताइरहेको छ । तर कानुनी प्रावधानका कारण उनीहरु फर्किन सकिरहेको छैनन् ।”
महन्थ ठाकुरको पक्ष छाडेर जानेहरूको सूची लामो छ । जसमा महेन्द्रराय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह, गोविन्द चौधरी, अमृता अग्रहरी, राम नरेश यादव, रमेश यादव, गजाधर यादव, प्रमोद साह, नरमाया ढकाल, नवलकिशोर साह, सुरेश मण्डल, विक्की यादव, रानी मण्डल, रेणुका गुरुङ, रुही नाज, मनिष सुमन, डा.रिना यादव, नीरा कुमारी साहलगायतका छन् । यीमध्ये अधिकांशको सम्पर्कमा लोसपाका शीर्ष नेताहरू रहेका छन् ।
लोसपाका सांसद एवं कार्यकारिणी सदस्य विमल श्रीवास्तवले यताको नेता उता, उताको नेता यता आउनु–जाउनु मधेसवादी दलका लागि कुनै नौलो कुरा नरहेको बताउँछन् । ‘नेता तथा कार्यकर्ता यति नै हो, यताउति भइरहन्छन्, तर जसपामा विवाद भएपछि त्यसको फाइदा लोसपालाई हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन,’ उनले भने, ‘केही असन्तुष्ट आउन सक्लान् तर त्यसले के हुन्छ, केही हुँदैन, आयाराम गयाराम जस्तो हुन्छ ।’
जसपामा केही असन्तुष्ट सांसद छन् तर उनीहरू सांसद पद जाने डरले कतै जाँदैनन्, चुनाव आउन अझै बाँकी छ । त्यसमाथि चुनाव हुन्छ कि हुँदैन, ठेगान छैन । त्यसैले कुनै दलमा असन्तुष्ट भएकाहरू आफ्नो पार्टीमा आउँछन् र त्यसले पार्टी बलियो बनाउँछु भन्ने सोच्नु मनको लडु घिउ सित खानु बराबर रहेको उनले बताए ।