वीर सपुतहरुको सम्झनामा आज सहिद दिवस मनाउदै

361 Shares

काठमाडौं, १६ माघ । प्रजातन्त्र स्थापनाको लागि आफनो जीवन उत्सर्ग गर्ने वीर सपुतहरुको सम्झनामा आज सहिद दिवसको रुपमा मनाइदैछ ।
वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गरेका हुन् ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
माघ १६ गते आइतबार शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिंदैछ ।

सम्बन्धित समाचार