निर्वाचन निर्धारित समयमै हुने प्रधानमन्त्री देउवा

   १७ माघ २०७८, सोमबार १६:०६  

रौतहट, १७ माघ । नेपाली काँग्रेसको सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने अडान लिएका छन् ।
सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीनै तहको निर्वाचन एकैपटक हुनेगरी असोजमा गर्नुपर्ने वा पहिला संसदीय चुनाव गरेर पछि स्थानीय चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेका बेला प्रधानमन्त्री देउवाले वैशाखमै गर्ने अडान लिएको श्रोतले दाबी गरेका हुन् ।
देउवाको अडान सामु माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कुनै सिप लागेन । प्रचण्डले शुक्रबार माओवादी मन्त्रीहरुको बैठकमा वैशाखमै स्थानीय तहको चुनाव गर्ने तयारी भइरहेको बताएका थिए । बैठकपछि अर्थमन्त्री जनार्दन शर्माले समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने धारणा राखेका थिए । यता प्रधानमन्त्री देउवाले केन्द्रीय समितिको भर्चुअल बैठकमा स्थानीय चुनावको तयारीमा केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए ।
पदाधिकारीहरु उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरु सँगको छुट्टै बैठकमा पनि प्रधानमन्त्री देउवाले वैशाखमै स्थानीय तहको चुनाव हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएको एक पदाधिकारीले जानकारी दिए ।
देउवाले प्रचण्ड र माधव पनि कन्भिन्स भइसकेको भन्दै आज सत्ता गठबन्धनको बैठकबाट वैशाख वा जेठसम्ममा चुनाव गर्ने निर्णय आउने जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै