कोरोना प्रोटोकलको उलंघन गर्दै जिम्मेवार राजनितिक दलका नेताहरु

   १७ माघ २०७८, सोमबार १७:३१  

रौतहट, १७ माघ । कोभिड–१९ को संक्रामकलाई मध्य नजर राख्दै नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको स्वास्थ्यको मापदण्ड पुरा गरेर मात्रै घर बाहिर निस्कन र सोको पालना गर्न राज्यको हरेक नागरिकको दायित्व रहेको छ ।
नेपाल सरकारले संक्रामक रोग ऐन २०२० अनुसार महामारीका बेला राज्यले जारी गरेको नियम र आदेश उल्लंघन गर्न पाइँदैन । राज्यका हरेक कानुन र नियम मान्नु नागरिकको कर्तव्य हो ।
महामारीका समयमा त हरेक नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । तर एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले भने महामारीलाई नै मजाक बनाइदिएको पाइएका छन् । कोभिड महामारी सुरु भएदेखि यसलाई सामान्य ठान्दै आएका ओली अहिले कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् । उनको अवस्था सामान्य छ । गत शनिबार मात्र उनलाई कोरोना पुष्टि भएको थियो ।
आइसोलेसनमा बसेका उनको रिपोर्ट नेगेटिभ आएको छैन । तर रिपोर्ट नेगेटिभ नआइकन ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । बिहीबार एमाले निकट युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ओलीलाई सहभागी गराइएको हो । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली रिपोर्ट नेगेटिभ नआई सार्वजनिक कार्यक्रममा सहभागी भएर सामाजिक अपराध गरेको भन्दै अहिले उनको आलोचना हुन थालेको छ ।
आफैं कानुन बनाउने ठाउँमा पुगेका ओलीले आफ्नो कदमले समाज कतातिर जान्छ भन्ने नसोचेको भन्दै उनको कडा आलोचना भइरहेको छ । सर्वसाधारण नागरिकलाई संक्रामक रोग लिएर सार्वजनिक स्थानमा हिँड्दा कानुन लाग्छ तर दुईपटक प्रधानमन्त्री भइसकेका र प्रमुख प्रतिपक्ष दलका नेताले कोरोना बोकेर यसरी हिँड्दा के हुन्छ भन्दै उनीमाथि प्रश्न उठेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त ओलीको हर्कतलाई गैरजिम्मेवारीको पराकाष्टा भनेका छन् । संक्रमण पुस्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्रजिम्मेवारीको पराकाष्ठा, कानुनको उल्लंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाडसमेत हो, शर्माले ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा आफनो भावना यसरी राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै