सटरको ताला काटेर मोवाइल चोरेको आरोपमा पाँच पक्राउ

   १७ माघ २०७८, सोमबार २०:२९  

कलैया, १७ माघ । सटरको ताला काटेर मोवाइल पसलमा चोरी गरेको आरोपमा पाँच जनालाई वारा प्रहरीले पक्राउ गरेको छ ।
बाराको प्रसौनी गाउँपालिका २ स्थित शुभ श्री मोवाइल पसलमा माघ १५ गते एक समुहले सटरको ताला काटेर विभिन्न कम्पनीको मोवाइल, ब्याट्री, चार्जर र राउटर लगाउतका सामग्रीहरु चोरी गरेका थिए ।
पिडित पसलेले जिल्ला प्रहरी कार्यालय कलैयालाई लिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रसौनी गाउँपालिका १ का २४ बर्षिय विशाल मुखिया, उनका २२ र २० बर्षिय भाईहरु बलिराम मुखिया, राम मुखिया तथा सोही वडाका २७ बर्षिय पवन पटेल र वडा नम्वर ४ का २३ बर्षिय रहमतुलाह अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानको आधारमा प्रहरीले मुखियाको घरमा छापामारी गर्दा उनी सुत्ने कोठामा रहेको खाट मुनिबाट ३ वटा ब्यागमा राखिएको अवस्थामा पसलबाट चोरी भएको ९४ सेट मोबाइल, ब्याट्री, चार्जर, राउटर बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए ।
मुखियाको घरबाट ६ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा पनि बरामद गरिएको तथा चोरीमा संलग्न रहेका पाँचै जना माथि डाँका चोरी मुद्दा चलाएर बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थपी अनुसन्धान अगाडी बढाइएको डिएसपी थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै