एमसीसी पास हुन नदिन चिनियाँ चलखेल, २ दिनमा ६ नेता संग भर्चुअल वार्ता

काठमाडौं, १८ माघ । सत्तारुढ गठबन्धनको गत शनिवार बालुवाटारमा बसेको बैठकमा सदनमा एमसीसीलाई टेवुल गरेर पास गराउने गोप्य सहमतीलाई प्रचण्डको विश्वासपात्र मानिएका सभामुख अग्नी सापकोटाले खुस्काएपछि चिनियाँ चलखेल बढेको छ ।
दुई दिनमा ६ जना कम्युनिष्ट नेताहरु संग चिनियाँ कुटनितिक अधिकारीहरुले वार्ता गरेर कुनै पनि अवस्थामा एमसीसी पास हुन नदिन कडा सन्देश दिएका छन् ।
सोही क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले भर्चुअल वार्ता गरे । यो वार्ता बिना कुनै तयारी अकस्मात थियो ।
जब नेपालमा अमेरिकी सहायता परियोजना एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) संसदबाट पारित गराउने सहमती सत्ता गठबन्धन भयो तब चीन एकाएक सक्रिय भएको हो । यसैको स्वरुप चिनियाँ कम्युनिस्ट पार्टी उच्च नेताले प्रचण्डलाई भर्चुअल कुराकानी गरे । कुराकानीमा चिनियाँ नेता थाओले बेल्ट एन्ड रोड अवधारणा बीआरआईको कुरा गरेर अमेरिकी एमसीसी सम्झौता अगाडि नबढाउन कडा सन्देश दिएको बुझिएको छ ।
“नेपाल सँग बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) को फ्रेम वर्क भित्र रहेका प्रमुख परियोजनालाई व्यवहारिक कार्यान्वयनमा लैजान चीन चाहन्छ” चिनियाँ नेताले प्रचण्डलाई भने । उनले अप्रत्यक्ष रुपमा एमसीसी अगाडि नबढाउन र बीआरआईमा केन्द्रीत हुन प्रचण्डलाई भनेका छन् ।
बीआरआईमा जोड दिएका चिनियाँ नेताले माओवादी केन्द्र सँग अझै गहिरो सम्बन्ध सीपीसीले चाहेको छ, पार्टी—पार्टीबीचको सम्बन्ध सुदृढ गर्दै चीन—नेपाल मित्रता तथा क्षेत्रीय शान्ति र स्थिरताका लागि अझै बढी योगदान गर्न चीन चाहेको उल्लेख गरे । क्षेत्रीय शान्ति भनेर उनको संकेत एमसीसी तिर थियो । चिनियाँ विदेश विभाग प्रमुख थाओले प्रचण्ड सँग मात्र नभई पछिल्लो दुई÷तीन दिनमा ६ जना नेतासँग कुरा गरेका छन् ।
सत्ता गठबन्धनमा एमसीसी अगाडि बढाउने सहमति भएसँगै सक्रिय भएका चिनियाँ विदेश विभाग प्रमुख थाओले प्रचण्ड सँगै माधव नेपाल, नारायणकाजी श्रेष्ठ, सभामुख अग्नि सापकोटा, माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सँग बेग्ला बेग्लै कुरा गरेर एमसीसी कुनै हालतमा पास हुनु हुँदैन भनेर त्यसको लागि माहोल सिर्जना गर्न खोजेको सत्ता गठबन्धनका एक नेताले बताए ।
त्यसवापत माओवादी नेताहरुलाई चुनावमा सघाउने प्रतिबद्धता चिनियाँ नेताले गरेको छ । माओवादीसँग सहकार्य अझै बढाउने र निर्वाचनमा खुला रुपमा सघाउने आश्वासन नेताहरुलाई सीपीसीले दिएको छ । तर एमसीसी अगाडि नबढाउन दबाब बढाएको छ ।
कसरी सक्रिय भए चिनियाँ ?
शनिबार बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भएको छलफलमा एमसीसीलाई टेबुल गर्ने र पास गराउन अगाडि बढ्ने समझदारी भएको थियो । एमसीसीका कारण गठबन्धन नै टुट्ने भएपछि प्रचण्डले माधवलाई एमसीसीमा कन्भिन्स गराएका थिए । गठबन्धन टुट्यो भने चुनावमा अपेक्षित परिणाम नआउने र नराम्रो हार व्यहोर्नुपर्ने भयका कारण गठबन्धन टुट्न नदिन एमसीसी अगाडि बढाउन सहमत भएका थिए ।
त्यसअनुसार प्रचण्डले सभामुख अग्नि सापकोटालाई एमसीसी टेबल गर्न आग्रह गरेका थिए । बहुमत पुगे पास हुन्छ नभए फिर्ता हुन्छ, संसदमा भने अगाडि बढाउन प्रचण्डले सापकोटालाई भनेका थिए । तर चीन निकट मानिने सापकोटाले यो कुरा चिनियाँ राजदूत होउ यान्छीलाई जानकारी गराए । “प्रचण्ड एमसीसी पास गर्ने तयारीमा छन् । गठबन्धन टुट्छ भन्ने डर छ । मलाई एमसीसी अगाडि बढाउ भनेका छन्,” भनेर उनले राजदूत यान्छीलाई भने । लगत्तै चिनियाँ राजदूतले यो कुरा बेइजिङ पुर्याइन ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेता एकाएक सक्रिय भए । सत्ता गठबन्धनका कम्युनिस्ट नेतालाई भर्चुअल सम्वाद गर्दै दुई दिन भित्र चिनिया विदेश विभाग प्रमुखले ६ नेतासँग कुरा गरे । एमसीसी रोक्न दबाब दिएका छन् । यो दबाबमा सत्ता गठबन्धनका प्रमुख नेता प्रचण्ड परेका छन् । एकातिर चीनले आफू प्रति देखाएको सदभाव छ भने अर्कोतिर गठबन्धन टुट्ने र आफ्नो राजनीति नै सक्किने भय प्रचण्डलाई छ । अर्कोतिर अमेरिका सँग सम्बन्ध बिग्रिने तनाव छ । तेहरो चेपुवामा परेका प्रचण्डले अब कसरी निकास देलान आउदो समयले देखाउने छ ।
एमसीसी टेबल गरेर नतिजा स्वीकार्ने निर्णयमा पुगेका प्रचण्डलाई उनकै विश्वास पात्र अग्नि सापकोटाले चिनियाँलाई कुरा लाइदिएर प्रचण्ड अहिले अप्ठयारोमा परेका छन् ।