स्थानीय तहको निर्वाचन जेठ ४ गतेको लागि तयारी गर्न प्रधानमन्त्री देउवाको प्रस्ताव, सरकारले चाँडै मिति घोषणा गर्ने तयारीमा

काठमाडौं, १८ माघ । स्थानीय तहको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र प्रधानमन्त्री बिच छलफल भई जेठ ४ गते एकै चरणमा निर्वाचन हुने लगभग समझदारी कायम भएपनि मिति चाँडै तोकिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु सहित निर्वाचत आयोगका पदाधिकारीहरु संग भएको छलफलमा २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गराउने सझदारी भएको हो ।
छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो । प्रधानमन्त्री देउवाले छलफल पछि सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरे ।
“सरकार र आयोग बीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बन्यो, प्रधानमन्त्रीले तयारी अघि बढाउन भन्नुभएको छ, अब छिट्टै सरकारले निर्वाचनको मिति घोषणा गर्छ,” प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, सत्तारुढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन । गत शनिबार बसेको गठबन्धनको बैठकले कानुनमा आवश्यक संशोधन गरेर भए पनि जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाए पछि प्रधानमन्त्री देउवाले त्यसबारे छलफल अघि बढाएका थिए ।