कर्मचारी माथि भएको साँघातिक हमला विरुद्ध कारवाहीको माग गर्दै विद्युत प्राधिकरण गौरका कर्मचारीहरु आन्दोलित

910 Shares

रौतहट, २० माघ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरबाट विद्युत चुहावट एवं मिटर छड्के चिकिंगमा खटिएका कर्मचारी माथि दुई दिन अघि गरिएको साँघातिक हमलाको विरुद्धमा विद्युत कर्मचारीहरु आन्दोलित भएका छन् ।
नेपाल विद्युत कर्मचारी युनियन, परिषद र संघले संयुक्त विज्ञप्ती जारी गर्दै भोली देखि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् ।
गत मंगलवार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरबाट विद्युत चुहावट एवं मिटर छड्के चिकिंगमा खिटएका कर्मचारीलाई लक्ष्ति गरेर रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ७ मुडबलवामा साघाँतिक हमला गरिएदा पाँच जना कर्मचारी घाईते भएका थिए ।


नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको एकाई अध्यक्ष संदिपकुमार सिंह, सचिव प्रभुनाथ वैठा, नेविप्रा कर्मचारी संघको सदस्य धर्मेन्द्र पासवान, नेविप्रा कर्मचारी परिषदका सदस्य शैलेन्द्रप्रसाद सिंह र दैनिक ज्यालादारीमा कार्यरत चालक गेगप्रसाद यादव माथि साँघातिक हमला गरिएको थियो ।
राजदेवी नपा ७ मुडवलवा स्थित लालबाबु साहले संचालन गरेको हाँस फारममा विद्युत हुकिंग गरेर विद्युत चुहावट गरिरहेको चेकजाँच गर्दा साह सहित १० जनाले विद्युत कर्मचारी माथि लाठी र भाठाले साँघातिक हमला गर्दा पाँच जना घाईते भएको नेविप्रा कर्मचारी युनियनले जनाएको छ । घाईते मध्ये प्रभुनाथ वैठाको दाहिने हात भाँचिएर उपचारको क्रममा सुर्या अस्पताल विरगंजमा रहेको युनियनको एकाई अध्यक्ष संदिपकुमार सिंहले तराई टपलाई बताए ।


चालक, शैलेन्द्रको दाहिने हतकेला भाँचिएको छ र अन्य सामान्य घाईते भएको हुँदा पनि स्थानीय प्रहरी प्रशासनले हमला गर्नेहरु मध्ये मात्रै एक जनालाई समातेको गुनासो गरे । प्राधिकरणबाट नियमित चेकचाँजमा खटिएको टोली माथि आक्रमण हुनु र आक्रमणकारी लाई जोगाउने राजनीतिक चलखेल हुन थालेपछि विद्युत प्राधिकरण गौरका कर्मचारीहरु आन्दोलित भएर आज प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए तर प्रजिअ भेट हुन सकेन कर्मचारी संदिपले भने ।
आक्रमण गर्ने व्यक्तिहरु माथि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउनुपर्ने अन्यथा शुक्रवार विद्युत प्राधिकरण वितरण केन्द्र गौरमा १० बजे देखि १ घण्टा हातमा कालोपर्टी बाँधेर महसुल काउण्टर बाहेक अन्य सेवा ठप्प गरेर पेनडाउन गर्ने, आईतवार २ घण्टा हातमा कालो पर्टी बाँधेर पेनडाउन गर्ने तथा माघ २४ गते सोमवार देखि इमरजेन्सि सेवा बाहेक वितरण केन्द प्रमुख र प्रशासनीक कोठामा ताला लगाएर सम्पुर्ण सेवा अनिश्चितकाल सम्मको लागि ठप्प पार्ने चेतावनी विज्ञप्ती मार्फत नेपाल विद्युत कर्मचारी परिषद, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत कर्मचारी युनियनले दिएका छन् ।


यस विषयमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरको प्रमुख विजय महतोले नियमित चेकजाँच एवं ब्लैकलिष्ट भएका ग्राहकको मिटर खोल्न गएको वेला हाँस फारममा हुकिंग गरेर चुहावट गर्दै गरेको अवस्थामा हाँस फारम संचालकलाई सम्झाउन खोज्दा त्यहाँ उपस्थित रहेका ८÷१० जना व्यक्तिलाई उचालेर साँघातिक हमला गराएको घटना अत्यन्तै निन्दनिय रहेको बताए । घटनामा संलग्न रहेका व्यक्तिहरुलाई तत्कालै पक्राउ गरी हदै सम्मको कारवाही गर्नुपर्ने माग उनले गरे । यस सम्बन्धमा प्राधिकरणको कानुनी शाखा र प्रादेशिक शाखामा पत्राचार गरिसकेको हुँदा त्यसको आधारमा कारवाही एवं कानुनी प्रक्रिया प्राधिकरणबाट अघि बढाउने प्रमुख महतोले तराई टप अनलाईन संग कुरा गर्दै बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले विद्युत कर्मचारी माथि आक्रमण गर्ने मध्ये एक जनालाई नियन्त्रणमा लिइसकेको र उनी माथि अभद्र मुद्दामा १० दिनका आज म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको बताउदै घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजिकार्य गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार