प्रधानमन्त्री देउवाको भारत भ्रमणको गृह कार्य हुँदै

   २२ माघ २०७८, शनिबार ०९:३३  

प्रधानमन्त्री शेरबहादुर देउवाको महामारीको कारण रोकिएको भारत भ्रमणको लागि पुन ः एक पटक दुबै पक्षविच गृहकार्य सुरु गरिएको छ ।
कोरोना महामारीका कारण रोकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका लागि पुनः नेपाल र भारतका कूटनीतिक च्यानलबीच गृहकार्य सुरु गरिएको हो  । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाको अवस्था ओरालो लाग्न थालेपछि प्रधानमन्त्री देउवाको औपचारिक भ्रमण गर्ने गरी गृहकार्य थालिएका छन् । यसअघि देउवाको औपचारिक भ्रमण २५ देखि २७ पुससम्म गुजरातको अहमदावादमा हुने तय थियो, तर कोरोनाका कारण अन्तिम समयमा भ्रमण स्थगित भएको थियो ।
एक महिना पछि ओमिक्रोन तथा कोरोनाको अवस्था सामान्य भएमा प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनेछ । नेपाल र भारतका कूटनीतिक अधिकारीहरू बीच प्रधानमन्त्रीको आसन्न भ्रमण बारे छलफल भइरहेको छ, प्रधानमन्त्री निकट स्रोतले भन्यो, प्रधानमन्त्रीको भारत भ्रमणका लागि भारतको कूटनीतिक च्यानल सँग हाम्रो परराष्ट्र मन्त्रालय र दिल्ली स्थित नेपाली दूतावास निरन्तर सम्पर्कमा छन् । दिल्लीमा कोरोनाको अवस्था अलिकति सामान्य भएपछि उहाँको भ्रमण हुनेछ ।
प्रधानमन्त्री देउवाले भारत सरकार तथा भारतीय जनता पार्टीको नेतृत्व सँग छलफल गर्न चाहेका छन् । त्यसका लागि भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमण र कांग्रेस नेता डा. प्रकाशशरण महतको भारत भ्रमणले वातावरण निर्माण गरेको दुवै पक्षको बुझाइ छ ।
प्रधानमन्त्री देउवाका तर्फबाट ब्याक च्यानल मार्फत पनि भारतीय नेतृत्वसँग संवाद भइरहेको छ । जानकार कूटनीतिक स्रोतले बतायो, प्रधानमन्त्रीको पनि भारत भ्रमण गर्ने इच्छा छ, भारतको पनि उहाँलाई स्वागत गर्ने इच्छा रहेको छ । भारतसँग पञ्चेश्वर परियोजनाको डिपिआर, ऊर्जा, व्यापार लगायतका महत्वपूर्ण विषयहरू आफ्नो यही कार्यकालमा टुंग्याउन प्रधानमन्त्री इच्छुक र प्रयासरत रहेको श्रोतको दाबी छ । श्रोतका अनुसार प्रधानमन्त्री देउवाकै मार्गदर्शन अनुसार भारत र बंगलादेशमा ऊर्जा व्यापारका विषयमा ऊर्जा मन्त्री पम्फा भुसालले सरोकारवाला नेपाली र भारतीय पक्षसँग छलफल गरिरहेकी छिन् ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जहाज अवतरण गर्न भारतबाट एयर इन्ट्री रुटका लागि स्वीकृति माग्ने तयारी गरेको थियो । अब पनि एजेन्डामा यो विषय छ । ‘काठमाडौंका लागि जहाज आउन अहिले भारतले एउटा मात्रै एयर इन्ट्री रुट दिएको छ, भैरहवामा अन्तर्राष्ट्रिय उडानका लागि हामीलाई थप एयर इन्ट्री रुट चाहिन्छ । त्यसका लागि हामी भारतलाई आग्रह गर्नेवाला छौँ,’ जानकार अधिकारीले भने, ‘यो विषय उच्च राजनीतिक तहबाट उठाउनुपर्छ, अन्य तहमा विगतमा छलफल भए पनि सहमति हुन सकेको छैन ।’ कूटनीतिक अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको तहमा सहमति भएपछि मात्रै एयर इन्ट्री रुटका विषयमा थप वार्ता अघि बढ्नेछ ।
प्रधानमन्त्री देउवाले आगामी भ्रमणमा नेपालको ल्याबबाट गुणस्तर प्रमाणित भएका नेपाली अदुवा, अलैँचीलगायतका उत्पादन भारतीय बजारमा प्रवेश सहज रूपमा दिन पनि आग्रह गर्ने गरी गृहकार्य भइरहेको छ । प्रधानमन्त्री देउवाको अबको जोड पञ्चेश्वरको डिपिआरमा सहमति जुटाउने हुनेछ । ७ देखि ११ भदौ ०७४ मा भारतको राजकीय भ्रमण गर्ने क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंग्याउन प्रयास गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीसँग भएको द्विपक्षीय वार्तामा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर एक महिनाभित्र टुंग्याउन सम्बन्धित अधिकारीलाई तल्लो शारदामा जाने पानीको मूल्यांकन गर्न भारत तयार नहुँदा डिपिआर टुंगिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै