विवादित चिनियाँ कम्पनीले सिद्धबावा सुरुंग माग निर्माण गर्न ठेक्का हात पारे

   २५ माघ २०७८, मंगलवार २१:१२  

काठमाडौं, २५ माघ । सिद्धार्थ राजमार्गमा पटक पटक जाने गरेको पहिरोग्रस्त सिद्धबाबा सुरुंग मागलाई विवादित चिनियाँ कम्पनी चाइना स्टेट कन्ष्ट्रक्सन इन्जिनियरिंग कम्पनीले ठेक्का हात पारेको छ ।
विवादित चिनियाँ कम्पनी अहिले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काममा निकै ढीलाई गरिरहदा विवादित बनेको चिनियाँ मध्येको एक कम्पनी हो ।
सडक विभाग स्रोतका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणाका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ । यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिस्पर्धा गरेका ४ कम्पनी मध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएका छन् ।
विभिन्न कारण देखाउँदै कम्पनीले काममा ढिलाइ गर्दा नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना रुग्ण अवस्थामा पुगेको छ । यो कम्पनीले काठमाडौं–तराई मधेश द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको काम पनि जिम्मा पाएको छ । सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्छ । तर, अझै सडक विभागल ठेक्का स्वीकृत गर्ने आशयपत्र जारी भने गर्न भने बाँकी नै छ ।
यो ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङको निकटतम् चीनकै प्रतिद्वन्द्वी कोभेक–सीआरईजीसी जेभीले ७ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ कबोल गरेको थियो । चीनकै सीसीईसीसी सीआरसीसी १४ सियुआन जेभीले ९ अर्ब ८० करोड १६ लाख रुपैयाँ कबोल गरे र चाइना फर्स्ट हाईवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको थियो ।
ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकोमा चाइना स्टेट इन्जिनियरिङलाई नै ठेक्का दिने स्वीकृतिका लागि आयोजनाले सडक विभाग समक्ष सिफारिस गरेको छ । तर, विभागले यसबारे अन्तिम निर्णय गरिसकेको छैन । १ मंसिर २०७७ मा बसेको मन्त्रि परिषद्को बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ को लागि बजेटको सहमति प्रदान गर्ने निर्णय गरेको थियो । सडक विभागले ९ जेठ, २०७८ मा ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आहृवान गरेको थियो ।
स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आहृवान भएको थियो । यो सुरुङमार्ग १.१२६ किलोमिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) राखिनेछ । करिक ५ वर्षमा यो सुरूङमार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने सरकारी लक्ष्य राखिएको छ ।
सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्रमा पर्दछ । हरेक वर्ष वर्षा याममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा जनधनको क्षति हुने गरेको छ । गएको १० वर्षमा सिद्धबाबा सडक खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक रहेको छ । यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दी सम्म गाडी चल्ने गरेका छन् । अत्याधिक चाप भएको सडकलाई विस्तार गरी जोखिम कम गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ तर विवादित कम्पनीले ठेक्का पाएको हुँदा निर्धारित समयमा निर्माण कार्य पुरा हुन्छ कि हुदैनन त्यो समयले देखाउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै