काठमाडौं, २८ माघ । नेपालको चीन सँग जोडिएको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने नेपाल सरकारले जनाएको छ ।
मन्त्रि परिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीन सँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा धारणा बाहिर ल्याउने बताएको हो । उनले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीन सँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने स्पष्ट पारे ।
मन्त्री कार्कीले देउवा सरकार छिमेकीहरु सँग सीमा समस्या आउन नदिनका लागि प्रयत्नशील रहेको पनि बताए । उनले भने, “चीनसँगको सीमा विवादको सम्बन्धमा सरकारले रिर्पोटहरूको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा त्यसको वास्तविकतालाई राम्रो सँग अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने छ ।”
यसैगरी राष्ट्रपति चुरे संरक्षण तराई–मधेश समितिका पदाधिकारीहरु पदमुक्त गरेको विषयमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यम नै जिम्मेवार रहेको उहाँले बताए । “कुन–कुन सञ्चार माध्यममा के–के कुरा आउँछन्, त्यसको बारेमा समाचार प्रकाशन गर्ने सञ्चारमाध्यम नै जिम्मेवार हुन्छन् ।” उनले भने ।
प्रवक्ता कार्कीले भारत र चीन सँगको सीमा समस्यालाई कुटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने गृह कार्य गरिरहेको जानकारी दिए ।