काठमाडौं, २८ माघ । जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बन्दै गएको छ ।
जसपाको दुई ठूला नेताहरु विच उत्पन्न द्धन्दको कारण जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको हो । यादव माथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सके सम्म ५१ प्रतिशत पु¥याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेका छन् ।
अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, त्यो नमाने बहुमत सदस्यको अधिकार प्रयोग गरेर बैठक बस्ने तयारी रहेको भट्टराई पक्षको एक नेताले बताए । “सकेसम्म ५१ प्रतिशत पुर्याएर जसपा कब्जा गर्ने हो,” ती नेताले भने, ‘त्यो नभए अर्को पार्टी गठन हुन्छ ।’ ती नेताले पार्टी विभाजन पछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एकताको प्रयास हुने पनि जानकारी दिए । ‘भट्टराई र लोसपाका नेताबीच छलफल र भेटघाट भइरहेको छ,’ उनले भने ।
जसपामा दुई पक्षबीच पहिले देखि नै तिक्तता रहे पनि राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ का हेमराज राई पराजित भएपछि भट्टराई पक्ष झन् चिढिएको छ । राईलाई यादव पक्षले मत नदिएको भट्टराई पक्षले आरोप लगाएको छ । यादवले पार्टी निर्णय बिना प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनमा मोहम्मद खालिद सिद्धिकीलाई टिकट दिएको पनि भट्टराई पक्षको आरोप छ । भट्टराई पक्षका एक केन्द्रीय सदस्यले एक साताभित्र केन्द्रीय समिति बैठक नभए बहुमतका आधारमा पार्टीको नेतृत्व भट्टराईले गर्ने दाबी गरे ।
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले यादवको कार्यशैली ‘तानाशाही प्रवृत्ति’ को भएकाले मान्य नहुने बताए । उनले पार्टी भित्र सामूहिक नेतृत्वको मुद्दा उठेको जानकारी दिए । ‘पार्टीमा तीन अध्यक्ष व्यवस्था गर्नुपर्ने र त्यसमा क्लस्टर अनुसार आदिवासी,
खस आर्य र मधेसीलाई समेट्नुपर्ने माग गरे, उनले भने । यादव पक्षले भने तीन ‘क्लस्टर’ भित्रै धेरै क्लस्टर भएकाले तीन अध्यक्ष रहने प्रणालीमा जान नहुने तर्क गरेको छ । ‘सामूहिक नेतृत्व प्रणाली असफल भइसक्यो,’ यादव पक्षका एक नेताले भने । नेता राईले पार्टीको विधानमै एउटा संघीय परिषद् अध्यक्ष र दुईवटा कार्यकारी अध्यक्ष पद रहेकाले तिनलाई कायम गर्नुपर्ने बताए । ‘यसमा खासगरी उपेन्द्र यादवले चासो देखाउनु भएन,’ उनले भने, ‘अन्तिमसम्म प्रयास गर्छौं । सकेसम्म मिलाउने नै हो ।’
यादव पक्षधर नेता रामसहाय प्रसाद यादवले आवश्यकता अनुसार बैठक बस्ने उल्लेख गर्दै अहिले जरुरी नभएर केन्द्रीय समिति बैठक नबोलाइएको बताए । ‘पार्टीमा कुनै पनि किसिमको विवाद र मनमुटाव छैन,’ उनले भने, ‘कसैले बैठक बस्ने पनि भनेका छैनन्, अध्यक्षले कसरी बैठक राख्ने ?’ यादव नेतृत्वको संघीय समाजवादी पार्टी र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकीकरण भएर समाजवादी पार्टी बनेको थियो । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाख १० मा एकीकरण भएर जसपा बनेको हो । जसपाबाट पाँच महिना अघि महन्थ ठाकुर नेतृत्वको समूह अलग भइसकेको छ ।