विराटनगर, ५ फागुन । विराटनगर स्थित नेपाल भारत सीमनको जोगबनी नाकाबाट आयात-निर्यात सहज बनाउन भारततर्फको नयाँ पुल सञ्चालन गरिने भएको छ ।
भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नितिन गड्करीले एक महिनाभित्र पुल सञ्चालनमा ल्याउन मातहत निकायलाई निर्देशन दिएका बताएका हुन् ।
मीरगञ्जस्थित पुल क्षतिग्रस्त भएपछि आयात निर्यात प्रभावित हुँदै आएको छ । मोरङ व्यापार संघले उक्त पुलको विकल्पमा नजिकैको निर्माणाधीन पुल सञ्चालनमा ल्याउन आग्रह गर्दै आएको थियो ।
बथनाहा–जोगबनी सडक खण्डमा पर्ने उक्त पुल सञ्चालनमा आएपछि आयात निर्यात सहज हुने संघका अध्यक्ष नवीन रिजालले बताए । उनका अनुसार नेपालस्थित भारतीय राजदूतावास मार्फत मन्त्री गड्करीले महिनाभित्रै पुल सञ्चालनमा ल्याइने बताएका हुन् । यसका लागि भारतस्थित नेपाली राजदूतावासले पनि संघले प्रस्तुत गरेको मागका आधारमा भारत सरकारको ध्यानाकर्षण गराएको थियो ।
पुल सञ्चालनका लागि संघले नेपाल र भारतका प्रधानमन्त्री, मन्त्रीहरू साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको रिजालले बताए । जोगबनी नाका हुँदै सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगका लागि कच्चापदार्थ साथै अन्य सामान आयात हुने गरेको छ ।
यसैगरी नेपालबाट निर्यात हुने सामान उक्त नाका हुँदै पठाइने गरिएको छ । पुल क्षतिग्रस्त भएर ढुवानीका साधन जान नसक्दा भीमनगर–भण्टाबारी नाका हुँदै आयात निर्यात गर्ने गरिएको थियो । यसो गर्दा घुमाउरो बाटो आउजाउ गर्नुपर्ने साथै ढुवानी खर्च वृद्धि भई सामानको लागतसमेत बढ्ने गरेको उद्योगी–व्यवसायीले बताउँदै आएका छन् ।
विगतमा मीरगन्ज पुलको विकल्पमा अर्को पुल निर्माणका लागि ध्यानाकर्षण गराइँदै आएको थियो । दुई वर्षयता निर्माणाधीन चार लेनको पुल अन्तिम चरणमा पुगेको छ ।