काठमाडौं, ६ फागुन । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) लगायत विषयमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक निष्कर्ष विहिन भएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बुधवार अपराह्न ५ बजे बैठक बसेपनि निष्कर्ष विहिन भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी थिए ।
बैठकमा यही फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीसम्बन्धी प्रस्ताव टेबल गर्नका लागि साझा धारणा बनाउनेलगायतका विषयमा छलफल भएपनि सहमति भएन ।
संसद्को बुधबारको बैठकमा सो प्रस्ताव टेबल गर्ने सरकारको तयारी भए पनि सत्तारुढ दलबीच सहमति नभएपछि टेबल गरिएको थिएन ।